सहज वातावरण निर्माण गर्न गैरआवासीय नेपाली सङ्घको आग्रह

इनेप्लिज २०७२ असोज १३ गते ५:०४ मा प्रकाशित

काठमाडौँ, १३ असोज । गैरआवासीय नेपाली सङ्घले देशमा भइरहेको वर्तमान असहज अवस्थाको अन्त्य गर्न नेपाल र भारत सरकार दुवैले इमान्दारीपूर्वक आपसी छलफल गरी अहिलेको जटिलतालाई यथासम्भव चाँडो सम्बोधन गर्न आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष शेष घलेले विज्ञप्ति जारी गर्दै अहिलेको असहजतालाई सामान्य स्थितिमा रुपान्तरण गरी देशको आर्थिक विकास र समृद्धितर्फ उन्मुख हुने वातावरण निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ ।

“नयाँ संविधानको घोषणासँगै असहज परिस्थिति सिर्जना भई अत्यावश्यक दैनिक उपभोग्य वस्तुको नियमित आपूर्तिमा बाधा व्यवधान आई देशभरि नै र खासगरी दैनिक मजदुरी गरी जीवन निर्वाह गर्ने निम्नवर्गीय समुदायमा प्रत्यक्ष प्रभाव पर्न गएकामा हामी गैरआवासीय नेपाली मर्माहत भएका छौँ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सङ्घले नयाँ संविधानको घोषणा हुनु सबैका लागि हर्षको विषय हो भन्दै संविधान देशको आर्थिक विकासका लागि जग हाल्ने एउटा कोसेढुङ्गा हुने विश्वास गरेको छ ।

प्रतिक्रिया