कागज अभाव भएपछि दैनिक पत्रिका बन्द गर्ने निर्णय

इनेप्लिज २०७२ असोज १३ गते ४:५८ मा प्रकाशित

पथरी (मोरङ), १३ असोज । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण कागज अभाव भएपछि विराटनगरबाट प्रकाशन हुँदै आएको सबै दैनिक पत्रिका बन्द गर्ने निर्णय भएको छ ।

सम्पादक तथा प्रकाशकको मङ्गलबार विराटनगरमा बसेको बैठकले भोलिदेखि सबै पत्रिका बन्द गर्ने निर्णय गरेको नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टले जानकारी दिनुभयो । विराटनगरबाट उद्घोष, उज्यालो, जन विद्रोह, दर्शन, विराटपथ र न्यू सृष्टि दैनिक प्रकाशन हुँदै आएका छन् ।

सम्पादक तथा प्रकाशकले मङ्गलबार जारी गरेको विज्ञप्तिमा लामो आमहडतालका कारण दैनिक पत्रिकाले आर्थिक र भौतिक क्षति बेहोरेर पनि प्रकाशनलाई निरन्तरता दिँदै आएकामा अहिले विराटनगर बाहिर पत्रिका वितरण गर्न नसकिएको उल्लेख गरिएको छ ।

विराटनगरमा डेढ महिनादेखि बन्द जारी हुँदा दैनिक जनजीवन अति नै प्रभावित बनेको छ । पत्रिका प्रकाशन गर्न चाहिने कागजका साथै विज्ञापनको अभाव र आर्थिक सङ्कट पनि पत्रिका बन्द गर्नुपर्ने कारण भएको बताइएको छ । विराटनगरको उज्यालो पत्र दैनिकका सम्पादक यज्ञ शर्माले प्रेसमा कागजको अभाव भएकाले पत्रिका प्रकाशन गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हिजोदेखि नै प्रकाशन बन्द गरेका छौँ ।”

प्रतिक्रिया