विद्यालय तहमा प्राविधिक शिक्षाको आकर्षण बढ्दो

इनेप्लिज २०७२ असोज १३ गते २:४५ मा प्रकाशित

बर्दिया, १३ असोज । सरकारले सामुदायिक विद्यालयको माध्यमिक तहमा लागू गरेको प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

आधारभूत तह (कक्षा ८) पास भएर माध्यमिक तहको कक्षा ९ मा भर्ना हुन आउने अधिकांश विद्यार्थी प्राविधिक शिक्षा पढ्ने इच्छाले विद्यालयमा भर्ना हुन आउने गरेका छन् । निःशुल्क प्राविधिक शिक्षा पढ्न पाइने र रोजगारको अवसर पनि चाँडै प्राप्त हुने भएकाले विद्यार्थी प्राविधिक शिक्षाप्रति आकर्षित भएको शिक्षकहरु बताउँछन् । अभिभावक पनि आफ्ना छोराछोरीलाई माध्यमिक तहमा प्राविधिक शिक्षा नै पढाउने मनसायले विद्यालयमा आउने गरेका छन् ।

देशभरका एक सय सामुदायिक विद्यालयमध्ये बर्दियामा त्रिभुवन उच्च माध्यमिक विद्यालय र भुरिगाउँ र ध्रुव उच्च माध्यमिक विद्यालय तुलसीपुरले माध्यमिक तहमा विगत तीन वर्षयता कृषि तथा पशुपालन क्षेत्रको प्राविधिक शिक्षाको अध्यापन गराउँदै आएका छन् । ती विद्यालयमा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको चाप निकै बढेको छ ।
प्राविधिक शिक्षाका लागि शिक्षा विभागले ती विद्यालयलाई ४८÷४८ विद्यार्थी कोटा मात्र दिएको छ । त्रिभुवन उच्च माध्यमिक विद्यालय भुरिगाउँका प्राचार्य शालिकराम पन्थीले प्राविधिक शिक्षा पढ्ने भन्दै धेरै विद्यार्थी आउने गरेको तर सरकारी कोटा थोरै भएकाले सीमित विद्यार्थीले मात्र अवसर पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राविधिक शिक्षामा विद्यार्थीको निकै आकर्षण छ । तर कोटा कम भएकाले धेरै वञ्चित भएका छन् ।” प्राविधिकतर्फको ४८ कोटामा करिब २०० विद्यार्थीले आवेदन दिएको त्रिभुवन उच्च माविका प्राचार्य पन्थीले बताउनुभयो ।

विद्यार्थी धेरै भएपछि आवेदन दिएकालाई प्रवेश परीक्षा लिई उच्चतम अङ्कका आधारमा विद्यालयले विद्यार्थी छनोट गर्ने गरेका छन् । अधिकांश बालबालिकाले प्राविधिक शिक्षा पढ्ने इच्छा गरेकाले सरकारी कोटा बढाउनुपर्ने अभिभावकको माग छ । प्राविधिक शिक्षाअन्तर्गत ४०० पूर्णाकङ् साधारणतर्फको नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय पढ्नुपर्छ भने प्राविधिकतर्फ ६०० पूर्णाङ्कको पाठ्यक्रम पूरा गर्नुपर्ने व्यवस्था छ । प्राविधिक शिक्षातर्फको एसएससी परीक्षामा गत वर्षदेखि नै ग्रेडिङ प्रणाली लागू भइसकेको छ ।

प्रतिक्रिया