युएनडिपीद्वारा ब्लक निर्माण

इनेप्लिज २०७२ असोज १३ गते २:४४ मा प्रकाशित

चौतारा, १३ असोज । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले जिल्ला विकास सिन्धुपाल्चोकलाई भूकम्प प्रतिरोधात्मक ब्लक निर्माण गरिदिएको छ ।

गत वैशाख १२ गतेको भूकम्पले भवन पूर्ण रुपमा ध्वस्त भएपछि टहराबाट कार्यालय सञ्चालन हुँदै आएको जिविसलाई युएनडिपीले १७ कोठा भएको तीनवटा प्री फ्याब ब्लक निर्माण गरिदिएको हो । सो संस्थाले कुञ्चोक गाविस कार्यालयको भवन पनि निर्माण गरी हस्तान्तरण गरेको छ ।

त्यस्तै जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, चौतारा नगरपालिका र मेलम्ची नगरपालिकाका लागि पनि ब्लक बनाइदिने प्रतिबद्धता जनाएको जिल्ला विकास समितिका आन्तरिक लेखा परीक्षण अधिकृत अनिरुद्र नेपालले जानकारी दिनुभयो ।

संस्थाले इर्खु गाविस र कर्थली गाविसका लागि पनि ब्लक बनाइदिने कार्यक्रम राखे पनि ती गाविसले आवश्यक जमिन उपलब्ध गराउन नसकेकाले ब्लक बनाउने कार्य रोकिएको जनाएको छ ।

प्रतिक्रिया