मधेसको माग सम्बोधन नभएसम्म संविधान अपूर्ण हुन्छ: डा भट्टराई

इनेप्लिज २०७२ असोज १२ गते १५:५० मा प्रकाशित

Baburam_Bhattaraiजनकपुरधाम, १२ असोज । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेसको माग सम्बोधन नभएसम्म संविधान अपूर्ण रहने बताउनुभएको छ ।

मधेस जनआन्दोलन सङ्घर्ष समितिद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले संविधान संशोधन गरी मधेसको जायज मागलाई सम्बोधन गर्नु जरुरी छ भन्नुभयो । उहाँले विगतमा समिति, आयोगद्वारा तराई मधेसमा दुई प्रदेशको सहमति भए पनि कार्यान्वयन नहुन सक्दा मधेसमा आन्दोलन उत्कर्षमा पुगेकाले आफूले तराई मधेसको आन्दोलनमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तत्पर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–“समावेशी, समानुपातिक र स्वायत्त मधेस प्रदेशका साथ नयाँ नेपालको स्थापना अहिलेको आवश्यकता भएको छ । ”
नेपालका दलहरुको चिन्तन पुरानो भइसकेकाले अब राष्ट्रमा नयाँ शक्तिको खाँचो छ भन्दै उहाँले सबैलाई नयाँ शक्ति निर्माणमा अगाडि आउन आग्रह गर्नुभयो । उहाँले हाल नेपाल भारत दुवैले अतिवादी सोचलाई त्यागेर वार्ताका माध्यमबाट समस्या समाधानको पहल गर्नु जरुरी भएको धारणा पनि राख्नुभयो ।

प्रतिक्रिया