किसानको आम्दानीको माध्यम दालचिनी

इनेप्लिज २०७२ असोज १२ गते १२:२५ मा प्रकाशित

Cinnamomum-tamala-(dalchini)_1रामपुर (पाल्पा), १२ असोज । उमेरले तीन बीस काटिसके पनि सुनवीर गाहाको जोँस भर्खरका युवाको भन्दा कम छैन । झ्वाट्ट उमेर हेर्दा तन्नेरी नै देखिने कोलडाँडा पाल्पाका गाहाले घरमै बसेर वार्षिक रुपमा रु तीन लाख आम्दानी गर्न सफल हुनुभएको छ ।

गाहाले आफूले मात्र नभई गाउँका एक सय घरपरिवारलाई आम्दानीसँगसँगै रोजगारका अवसर सिर्जना गरी दाम कमाउने वातावरण बनाउनुभएको छ । बारीका कान्ला, खेर गएका पाखोपखेरा र वन जङ्गलमा उम्रिएका दालचिनीलाई व्यवस्थापन गरी आम्दानीको बलियो माध्यम बनाएका छन् ।

जिल्ला वन कार्यालयको समन्वयमा दालचिनी खेती व्यवस्थित भएपछि गाउँमा बाह्रै महिना रोजगारीको अवसर मिलेपछि यतिखेर सबैको आर्थिक अवस्था बलियो बन्दै गएको छ । “वर्षभरि पात बोक्रा बिक्री गर्दा रु एक लाख रुपैयाँ आम्दानी हुन्छ, त्यसैबाट सहज रुपमा घर खर्च मात्र नभई बचत पनि भएको छ” स्थानीयवासी डिलबहादुर दर्लामी बताउनुहुन्छ ।

घरमा श्रीमान्, श्रीमती मिलेर काम गर्छाैं, बजारमा पातको मूल्य रु ४५ देखि रु ६५ सम्म प्रतिकिलो र बोक्रा रु ९० देखि रु ११० सम्ममा बिक्री गरी मनग्य आम्दानी लिएकोे उहाँले बताउनुभयो । गाउँघरमा रोजगारको अवसर नदेखी विदेशमा रगत र पसिना बगाउन गएका युवाले अहिले विदेशको भन्दा दोब्बर आम्दानी लिन सफल भएका छन् ।

कृषि उपज सङ्कलन केन्द्रबाट व्यापारीलाई दालचिनी बिक्री गर्न पाउँदा गाउँमा युवाको विदेश मोह नै भङ्ग भएको छ । गाउँका सबैको आम्दानीको बलियो आधार दालचिनी नै बनेको स्थानीय कृषक यमबहादुर दर्लामीले बताउनुभयो । “वार्षिक रुपमा कोलडाँडामा रु एक करोडभन्दा बढी रकम भित्रिन्छ” उहाँले भन्नुभयो ।

जिल्लाको कोलडाँडा मात्र नभई दोभान, सत्यवती, बल्ढेङगढी, जुठापौवा, कचल, भुवनपोखरी, छहरा, गोठादीलगायत बीसभन्दा बढी गाविसमा दालचिनीको व्यावसायिक रुपमा खेती गरिन्छ ।

मसलाजन्य आयुर्वेदिक औषधिसहित औद्योगिक कच्चापदार्थका रुपमा प्रयोग हुने र उत्पादित वस्तुको बजार भारत भएको र जिल्ला वन कार्यालयले एक घर १० बिरुवाको अभियान लागू गरेपछि यस व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा तीन हजारभन्दा बढीले रोजगारीको अवसर पाएको जिल्ला वन अधिकृत प्रकाश लम्सालले बताउनुभयो ।

दालचिनी खेतीलाई अभियान तथा व्यावसायिक रुपमा खेती गर्ने घरपरिवारबाट राहदानी बनाउने कार्य भएको छैन । जिल्लाबाट गत आर्थिक बर्षमा नौ लाख किलो दालचिनीको पात, तीन लाख किलो बोक्रा बाहिर निकासी भएको उहाँले बताउनुभयो ।

यस व्यवसायबाट घर खर्च चलाउन, छोराछोरीलाई पठनपाठन गर्न सजिलो भएको किसान बताउँछन् । सत्यवतीका नेत्रबहादुर चिदीले दालचिनी बेचेर लिएको आम्दानीबाट नयाँ घर बनाउने देखि मनोरञ्जनका लागि टेलिभिजन, डिस होमजस्ता वस्तु खरिद गरेको बताउनुभयो ।

गाउँमा दुई सयभन्दा बढी युवा दालचिनी व्यवसायमा आबद्ध भएको र यसकै कारण गाउँको मुहार नै फेरिएको उहाँको भनाइ छ । बहुउपयोगी वस्तुका रुपमा प्रयोग हुने दालचिनी खेतीको विस्तारका लागि जिल्ला वन कार्यालयले जिल्लाका दोभान गाविसमा नर्सरी स्थापना गरी वार्षिक रुपमा रु ५० हजारभन्दा बढी बिरुवा निःशुल्क रुपमा वितरण गर्दै आएको छ ।

आम्दानीका लागि बलियो र भरपर्दो माध्यम बनेको दालचिनी खेतीलाई अझ बढी विस्तार गरी स्वदेशमै प्रशोधन गर्न सकिएको खण्डमा रोजगारीको बलियो ढोका खुल्ने किसान बताउँछन् ।

प्रतिक्रिया