बाली बिमाबारे कृषक अनविज्ञ, एउटा पनि बाली बिमा छैन

इनेप्लिज २०७२ असोज १२ गते ५:०५ मा प्रकाशित

downloadबैतडी, १२ असोज । बाली बिमाबारे बैतडीका कृषक अनविज्ञ रहेका छन् ।

उचित परामर्श नहुनु तथा सम्बन्धित निकायको बेवास्ताका कारण बाली क्षति भई लाखौँको नोक्सान भोग्नुपरेका किसानलाई बाली बिमाबारे थाहा नभएको हो ।

नेपाल सरकारले २०६९ सालमा बाली बिमाको प्रावधान ल्याएको भए पनि जिल्ला कृषि विकास कार्यालय बैतडीको तथ्याङ्कअनुसार अहिलेसम्म जिल्लामा एउटा पनि किसानले बाली बिमा गराएको छैन ।

एउटा पनि किसानले बाली बिमा नगराउन सम्बन्धित निकायको मौनताको उपज भएको कृषकको आरोप रहेको छ । जिल्लामा रहेका धेरैजसो व्यावसायिक किसान र कृषि विकास कार्यालयको अनुदानबाट खेती गरिरहेका किसानसमेत अनविज्ञ रहेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत कमलेस तिवारीले भन्नुभयो, “अहिलेसम्म एउटा पनि किसानले बाली बिमा नगराउन आफूहरुको पनि कमजोरी भएको र अबका वर्षमा बढी नसकिए पनि कृषिबाट अनुदान प्राप्त व्यावसायिक किसानलाई अनिवार्यरुपमा बाली बिमा गराउन लगाउने छौँ ।” उहाँले भन्नुभयो, “व्यक्तिको बिमामा समय पुगेपछि रकम फिर्ता हुने तर बाली बिमामा नोक्सानको मात्रै क्षतिपूर्ति हुने भन्ने गलत बुझाइका कारण पनि बाली बिमा गर्ने किसान नभएका हुन् ।”

बाली बिमा गरेका कुनै पनि किसानको बाली बाढी पहिरो, भूक्षय, रोगव्याधी, जङ्गली जनावरको कारणले क्षति भए बिमा कम्पनीले किसानको पूरै रकम उपलब्ध गराउने प्रावधान रहेको छ ।

प्रतिक्रिया