निःशुल्क भोजनालय बन्द

इनेप्लिज २०७२ असोज १२ गते ४:५७ मा प्रकाशित

पथरी (मोरङ), १२ असोज । मधेस केन्द्रित दलहरुले आह्वान गरेको अनिश्चितकालीन बन्दले बीच बाटोमा अलपत्र परेका यात्रु र यातायात मजदुरलाई निःशुल्करुपमा खाना खुवाउँदै आएको भोजनालय बन्द भएको छ ।

पूर्व नेपाल यातायात सङ्घ मोरङ शाखाका प्रमुख किशोर धमलाले आर्थिक अभावका कारण सो निःशुल्क भोजनालय बन्द गर्नु परेको जानकारी दिनुभयो । डेढ महिनाअघि विराटनगर बसपार्कमा अलपत्र परेका यात्रु र मजदुरलाई लक्षित गरेर बन्द नखोलुन्जेलसम्म खाना खुवाउन विराटनगर बसपार्कमा पालटाँगेर सो भोजनालय सुचारु गरिएको थियो ।

मजदुरलाई खाना खुवाउन उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घ, नेपाल रात्रि तथा दिवा यातायात सङ्घ विराटनगर, नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट, कञ्चनजङ्घा पार्टी प्यालेसलगायत दुई दर्जनभन्दा बढी सङ्घ–सङ्गठनले एक महिनासम्म दैनिक ५०० यात्रुलाई निःशुल्क भोजन गराउँदै आएको थियो ।

निःशुल्क भोजनालय बन्द भएपछि यात्रु र यातायात मजदुर गरी दैनिक ५०० सर्वसाधारणलाई समस्या भएको छ ।

प्रतिक्रिया