रत्ननगर (चितवन), ११ असोज । चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गएको एक वर्षमा बिरामीलाई रु ६२ करोड १० लाख बराबरको निःशुल्क सेवा प्रदान गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक चिनबहादुर पुनले बर्सेनि निःशुल्क सेवा दिने क्रम बढिरहेको बताउनुभयो ।
उहाँले दिएको जानकारीअनुसार सबैभन्दा बढी रक्त क्यान्सर भएका ६२५ जना बिरामीलाई रु ५१ करोड तीन लाखको निःशुल्क सेवा दिइएको छ ।
यस्तै ७० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि रु २० लाख २७ हजार र क्यान्सर सेवा समाजमार्फत रु १३ लाखको निःशुल्क सेवा प्रदान गरिएको पुनले जानकारी दिनुभयो ।
यस्तै विपन्न नागरिक उपचारका लागि रु आठ करोड, भर्ना भएका बिरामीलाई निःशुल्क खानामा रु ४१ लाख सहयोग गरिएको अस्पतालले जनाएको छ ।
यसका साथै चिनियाँ मेडिकल टिमबाट ५० हजार डलर बराबरको औषधि सहयोग भएको पुनले जानकारी दिनुभयो ।
विसं २०५३ मा सम्झौता भई १६ वर्षअघि स्थापना भएको क्यान्सर अस्पतालमा अहिले भारतका बिरामी समेत आउने गरेका छन् ।
नेपालकै नमुना रहेको क्यान्सर अस्पतालमा बर्सेनि बिरामीको चाप बढेपछि सेवा सुविधामा गुनासो आइरहेको छ । हाल १९४ श्यया रहेको अस्पतालमा थप २०० श्यया थप्ने प्रक्रिया चलिरहेको छ । अस्पतालमा बढी राजनीति हुने गरेको भन्दै व्यापक आलोचना हुँदै आएको छ ।
अस्पतालले बजेट कम हुने गरेको र पुराना मेसिन भएकाले बिग्रिने र बिग्रिएका मेसिन बनाउन नसक्दा समस्या परिरहेको जनाएको छ ।
यहाँ वार्षिक सवा लाख बढी बिरामीले सेवा लिने गरेको तथ्याङ्क छ ।
प्रतिक्रिया