काठमाडौँ, १० असोज । पूर्व कृषि तथा सहकारीमन्त्री होमनाथ दाहालले परनिर्भरता बढिरहेको र अघोषित नाकाबन्दीको चर्चा चलिरहेको बेला मुलुकलाई आत्मनिर्भर तुल्याउन सहकारीको विकास र विस्तारमा जोड दिनुभएको छ ।
कोटेश्वरस्थित मङ्गलमूर्ति बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले आयात बढेर मुलुक असाधारण परिस्थितिबाट गुज्रिरहेको अवस्थामा छरिएर रहेको पुँजीलाई सङ्कलन गरी उत्पादनसँग जोड्ने सहकारीको अहिले साँच्चि नै आवश्यकता परेको धारणा व्यक्त गर्नुभयो ।
“वार्षिक ३५ अर्ब रुपैयाँ बराबरको चामल आयात गर्नुपरिरहेको र विप्रेषणबाट प्राप्त हुने रकम ८० प्रतिशत उपभोगका वस्तु खरिदमा खर्च भइरहेको अवस्थालाई अन्त्य गर्न सहकारीको माध्यमबाट आत्मनिर्भर हुने, उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्ने कार्यक्रम घोषणा गर्न आवश्यक छ”–नेता दाहालले भन्नुभयो ।
पूर्वसभासद् एवम् सहकारीका जानकार विष्णुबहादुर राउतले छरिएर रहेको स्वदेशी पुँजीलाई एकीकृत गरेर देश अस्तित्व र पहिचानलाई बचाउन ठूलो सङ्ख्यामा रहेका युवा बेरोजगार र गरिबी सम्बोधन गर्न सहकारीका माध्यमबाट उत्पादनसँग जोडेर लैजान सक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–“परनिर्भरता बढिरहेको अवस्थामा अहिले दिनानुदिन सहकारीको महत्व बढेको छ, मुलुकको विकास, सक्षमता र सबलता बढाउँदै धनी र गरिबबीचको खाडललाई सहकारीकै माध्यमबाट कम गर्न सकिन्छ ।”
संस्थाका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मङ्गलमूर्तिका बचत तथा ऋण सहकारीका तीन सय १४ जना सेयरधनी रहनाका साथै यो वर्ष संस्थाले रु तीन करोड निक्षेप सङ्कलन गर्नाका साथै रु एक करोड ३५ लाख कर्जा प्रवाह गरेको जानकारी दिनुभयो ।
उपाध्यक्ष शरदकुमार शर्माले जनताबाट सङ्कलन गरेको पुँजीलाई केही सहकारीले दुरुपयोग गरेका कारण राम्रो गर्नेलाई समेत अप्ठ्यारामा परेको बताउँदै सहकारीमाथि इमान्दारीको प्रश्न उठेकाले सरकारले अनुगमन, प्रोत्साहन, पुरस्कार र दण्डलाई चुस्त तुल्याउन आवश्यक छ भन्नुभयो ।
प्रतिक्रिया