दक्षिण–दक्षिण सहयोग गतिशील तुल्याउन जोड

इनेप्लिज २०७२ असोज १० गते ४:१४ मा प्रकाशित

न्युयोर्क, १० असोज । संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा नेपाली प्रतिनिधिमण्डलका नेता उपप्रधानमन्त्री प्रकाशमान सिंहले दक्षिण–दक्षिण सहयोगलाई गतिशील तुल्याउन स्रोत र साधनको परिचालनसँगै संस्थागत एवम् नीतिगत उपाय अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।

चीनका राष्ट्रपति सी जिन पिङ र राष्ट्र सङ्घद्वारा संयुक्त रुपमा आयोजित ‘सन् २०१५ पछिका विकासका रुपरेखामा दक्षिण–दक्षिण सहयोग सुदृढीकरण’ विषयको बैठकमा नेता सिंहले विकासशील एवम् अल्पविकसित मुलुकका लागि दक्षिण–दक्षिण सहयोग ऐक्यबद्धता र साझेदारीको प्रतीकका रुपमा रहेको बताउँदै भर्खरै अनुमोदन गरिएका सन् २०१५ पछिका विकासका विषयको प्रभावकारी कार्यान्वयन गर्न दक्षिण–दक्षिण सहयोग उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा राष्ट्र सङ्घका महासचिव बान कि– मुनलगायत ७०औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहनुभएका विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको सहभागिता थियो ।

यसैबीच परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे विश्वव्यापी साझेदारीलाई पुनर्जीवित तुल्याउँदै विकासका प्रतिफल जनसमक्ष पुर्‍याउनेसम्बन्धी संवादमूलक वार्तामा सहभागी हुनुभयो । त्यस अवसरमा उहाँले विकासको प्रतिफल प्राप्तिबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने सुनिश्चितताका लागि विश्वव्यापी साझेदारीका साथै अन्य उपलब्ध साझेदारीका निम्ति अथक प्रयासको खाँचो औँल्याउनुभयो ।

प्रतिक्रिया