बकर इद पर्व हर्षोल्लासपूर्वक मनाइयो

इनेप्लिज २०७२ असोज ८ गते १४:०६ मा प्रकाशित

Rss_Images_1443171387635_RoS-Ktm-IDकाठमाडौँ, ८ असोज । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिद, मदरसा र इदगाहहरुमा हर्षोल्लासपूर्वक मनाइएको छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद, मदरसा र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको थियो । पर्व मनाउन आज सरकारले सार्वजनिक बिदासमेत दिएको थियो । बकर इदको अवसर पारेर राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालालगायत राजनीतिक दलका नेताले शुभकामना सन्देश दिनुभएको थियो ।

हिजरी संवत्अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो ।

“अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार छोरा इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको हो”– पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उहाँले भन्नुभयो ।

यसको सम्झनामा आज खसीबोका, राँगालाई बलि दिई तीन भाग लगाएर एक भाग गरिबलाई, अर्को भाग इष्टमित्रलाई र अन्तिम भाग परिवारलाई खुवाइ हर्षोल्लासपूर्वक बकर इद पर्व मनाइएको उहाँले बताउनुभयो । प्रत्येक हप्ता शुक्रबार नमाज पढ्ने गरिएकाले आज बकर इद पर्व पनि परेकाले विशेष दिन बन्न पुगेकाले थप उत्साहका साथ मनाइएको मुस्लिम धर्मावलम्बीले जनाएका छन् ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो ।

“जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”– उहाँले भन्नुभयो ।

यस वर्षको पर्वका अवसरमा साउदी अरबको मक्कामा ७०० भन्दा बढी तीर्थयात्रीको भागदौडमा परी निधन भइसकेको छ । जसमा पाँच जना नेपाली हजयात्रीसमेत परेका छन् । यसको समवेदनामा मस्जिदमा प्रार्थनासमेत गरिएको धर्मगुरु अलीले जानकारी दिनुभयो ।

मुस्लिमका प्रमुख पञ्चकर्ममध्ये नमाज पढ्नु, हज (तीर्थ यात्रा) गर्नु, जाकात (दान) गर्नु, कुर्वानी (बलिदान) गर्नु र रोजा (व्रत) बस्नु हो ।

नेपालको जनसङ्ख्या विसं २०६८ अनुसार मुस्लिम धर्मावलम्बीको सङ्ख्या ११ लाख ६६ हजार छ । जसको प्रतिशत ४.४ हुन आउँछ । बाँके, रौतहट, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, कास्की, तनहुँलगायत जिल्लामा मुस्लिम धर्मावलम्बीको बाहुल्यता रहेको छ ।

प्रतिक्रिया