हनुमानढोका अगाडि इन्द्रध्वजा फराएपछि जात्रा सुरु

इनेप्लिज २०७२ असोज ८ गते ५:०४ मा प्रकाशित

काठमाडौँ, ८ असोज । हनुमानढोका अगाडि इन्द्रध्वजा फराएपछि यसवर्षको इन्द्रजात्रा आजबाट सुरु भएको छ ।

भक्तपुर जङ्गलबाट ल्याइएको लिङ्गो विधिपूर्वक पूजा गरी हनुमानढोका अगाडि ठड्याइएको हो । लिङ्गो मानन्धर समूहले ल्याएको हँुदा उनीहरुको सहभागितामा उठाउनुपर्ने परम्परा छ । सो अवसरमा विभिन्न नेवारी सङ्घसंस्थाका प्रतिनिधिले विशेष सांस्कृतिक बाजागाजासमेत बजाएका थिए ।

उक्त कार्यक्रममा गुर्जुको पल्टनले धुन बजाउँदै नेपाली सेनाले सलामी दिएको थियो भने तोपसमेत पड्काएको थियो । एकसातासम्म सञ्चालन हुने जात्रामा हनुमानढोका आसपास क्षेत्रमा आइतबारदेखि गणेश, भैरव र कुमारीको रथ यात्रासमेत गरिन्छ ।

यस अवधिमा हनुमानढोका तथा त्यस वरपरका स्थानीय टोलटोलमा भैरवको मूर्ति प्रदर्शन तथा बाहिर दर्शनको व्यवस्था गरी प्रसाद वितरणसमेत गरिने लीरा मानन्धरले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाका नेवार समुदायले विशेष मनाउने इन्द्रजात्रा सुरु भएपछि विभिन्न पर्व आउने विश्वास गरिन्छ । इन्द्रजात्रा व्यवस्थापनका लागि गुठी संस्थान तथा सरकारले समेत सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया