प्रयोगशाला सञ्चालनमा आएपछि उपचारमा सहज

इनेप्लिज २०७२ असोज ८ गते ४:५४ मा प्रकाशित

Khotang_district_locationखोटाङ, ८ असोज । जिल्लाको दक्षिणी क्षेत्रमा प्रयोगशाला (ल्याब) सञ्चालनमा आएपछि स्वास्थ्य उपचारमा सहज भएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा सो सेवा सञ्चालनमा आएपछि उपचारमा सहज भएको हो । दुई वर्षअघि रु एक करोड २४ लाखको लागतमा प्रयोगशाला निर्माण गरिएको केन्द्रका अध्यक्ष देवेन्द्र श्रेष्ठले बताउनुभयो ।

“प्रयोगशाला सञ्चालनमा आएपछि विभिन्न प्रकारका रोग पत्ता लगाउन सहज भएको छ”–उहाँले भन्नुभयो, “यसले गर्दा जिल्ला अस्पताल खोटाङलगायत विभिन्न जिल्ला धाउनुपर्ने बाध्यता हटेको छ ।”

चौध वर्षदेखि अहेवको भरमा सञ्चालन हुँदै आएको केन्द्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले चिकित्सक पठाएपछि प्रयोगशाला सञ्चालनमा ल्याएको केन्द्रका प्रमुख चिकित्सक किरण राईले बताउनुभयो ।

भौगोलिक हिसाबले सदरमुकाम दिक्तेलबाट अति टाढा पर्ने प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्लाको दक्षिणी क्षेत्रका २९ गाविस तथा भोजपुरका केही गाविसका सर्वसाधारणले सेवा लिने गरेका छन् ।

प्रतिक्रिया