तीन प्रमुख भन्सार नाकामा मोर्चाको धर्ना

इनेप्लिज २०७२ असोज ८ गते ४:५३ मा प्रकाशित

गौशाला, ८ असोज । महोत्तरी जिल्लाको तीन प्रमुख भारतीय नाकामा आज बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले धर्ना दिएका छन् ।

मधेसका सम्पूर्ण भारतीय सीमानाकामा धर्ना दिने कार्यक्रमअन्तर्गत आज बिहानैदेखि महोत्तरीको प्रमुख तीन नाकामा मोर्चाका नेता कार्यकर्ताले धर्ना दिएका हुन् ।

संविधानमा मधेसको माग सम्बोधन गराउने उद्देश्यले मोर्चाले चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम गर्दै आएको छ ।

महोत्तरीको प्रमुख भन्सार भिठ्ठामोडमा सद्भावना पार्टी र सङ्घीय समाजवादी फोरम नेपालको संयुक्त नेतृत्वमा, दोस्रो प्रमुख नाका मटिहानीमा तराई–मधेस लोकतान्त्रिक पार्टीको नेतृत्वमा र तेस्रो प्रमुख सीमानाका सम्सीमा तराई–मधेस सदभावना पार्टीको नेतृत्वमा नेता कार्यकर्ता धर्नामा बसेका छन् ।

मोर्चाका नेता कार्यकर्ताले सीमानाकामा धर्ना दिएपछि भारतबाट नेपालतर्फ कुनै पनि सामग्री आउन सकेको छैन भने अहिले बिहान नेपाल–भारत आवतजावतमा समेत रोक लगाइएको छ ।

प्रतिक्रिया