राष्ट्रसङ्घ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डल न्युयोर्कमा

इनेप्लिज २०७२ असोज ८ गते ४:५१ मा प्रकाशित

Rss_Images_1443153288442_SB_new york_wel comeन्युयोर्क (अमेरिका), ८ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंह संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्क आइपुग्नुभएको छ ।

सो प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे पनि सहभागी हुनुहुन्छ । न्युयोर्कस्थित जोन अफ केनडी विमानस्थलमा उपप्रधानमन्त्री सिंह र पराराष्ट्रमन्त्री पाण्डेलाई राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, नायब स्थायी प्रतिनिधि सेवा लम्सालसहित नियोगका कर्मचारी तथा यहाँँ बसोबास गर्ने नेपालीहरुले स्वागत गर्नुभएको थियो ।

उपप्रधानमन्त्री सिंह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल कतारको दोहाबाट आजै यहाँ आइपुगेको हो । उपप्रधानमन्त्री सिंहले असोज १४ गते महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । महासभालाई विभिन्न देशका राष्ट्र एवम् सरकार प्रमुखले सम्बोधन गर्नुहुने कार्यक्रम छ । उपप्रधानमन्त्री सिंह महासभाका क्रममा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । भोलिदेखि सुरु हुने सन् २०१५ पछिको विकास लक्ष्य घोषणा गरी पारित गर्ने राष्ट्र सङ्घीय शिखर सम्मेलनमा सहभागी हुनुहुने छ । त्यस्तै सन् २०१५ पछिको विकास रुपरेखासम्बन्धी दक्षिण दक्षिण सहयोग उच्चस्तरीय गोलमेच कार्यक्रममा सहभागी हुनुहुनेछ । सो कार्यक्रम चीनका राष्ट्रपति सी जिन पिङ र संयुक्त राष्ट्र सङ्घका महासचिव वान की–मुनले आयोजना गर्न लाग्नुभएको हो ।

त्यसैगरी चीनका राष्ट्रपति पिङ र युएन वुमनले आयोजना गर्नुहुने लैङ्गिक समानता तथा महिला सशक्तीकरण कार्यान्वयनमा प्रतिबद्धतासम्बन्धी विश्वका नेताहरुको बैठक एवम् अमेरिकी राष्ट्रपति बाराक ओबामा र महासचिव मुनले आयोजना गर्नुहुने उच्चस्तरीय शान्ति सम्मेलनमा पनि उपप्रधानमन्त्री सिंहसहितको नेपाली प्रतिनिधिमण्डलले भाग लिनेछ ।

यो उच्चस्तरीय शान्ति सम्मेलनमा विश्वका द्वन्द्वरत मुलुकमा शान्ति सेना खटाउने देशका राष्ट्र एवम् सरकार प्रमुख सहभागी हुनुहुनेछ । विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा शान्ति सेना खटाउने मुलुकमा नेपाल छैठौँ स्थानमा रहेको छ भने हालसम्म एक लाखभन्दा बढी नेपाली सेना विश्वका द्वन्द्वरत मुलुकमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यमा सहभागी भइसकेका छन् ।

ऐतिहासिक संविधानसभाबाट पहिलोपटक संविधान जारी गरेको सन्देशसहित भूकम्पपछिको पुनःनिर्माणमा सहयोगको आह्वान, आतङ्कवाद एवम् गरिबी निवारण, जलवायु परिवर्तन जस्ता साझा समस्यालाई पनि नेपालले यसपटकको महासभामा प्राथमिकताका साथ उठाउने जनाइएको छ । शान्ति, विकास र मानवअधिकार जस्ता कुरालाई विशेष जोड दिने संयुक्त राष्ट्र सङ्घमा विश्वका १९२ मुलुक सदस्य छन् । दुई मुलुक भ्याटिकन सिटी र प्यालास्टाइन स्टेटले पर्यवेक्षकका रुपमा मान्यता पाएका छन् । नेपालले सन् १९५५ को डिसेम्वर १४ मा संयुक्त राष्ट्र सङ्घको सदस्य बनेको हो ।

नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य भएको यो वर्ष ६ दशक पूरा भएको छ भने संयुक्त राष्ट्र सङ्घ स्थापना भएको सात दशक पुगेको छ ।

नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री सिंह, पराराष्ट्र मन्त्री पाण्डे, प्रधानमन्त्रीका पराराष्ट्र सल्लाहकार डा दीनेश भट्टराई, प्रधानमन्त्री कार्यालयका सचिव नारायणगोपाल मलेगो, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागी, सहसचिव ताराप्रसाद पोखरेल, सहसचिव रमेशप्रसाद खनाल, उपसचिव दुर्गाप्रसाद भण्डारीलगायत सहभागी हुनुहुन्छ ।

न्युयोर्कस्थित नेपाली नियोगबाट स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईसहित सात जना र नेपाली दूतावास वासिङ्गटन डिसीबाट राजदूत डा अुर्जनकुमार कार्की पनि सहभागी हुनुभएको छ ।

विकासोन्मुख देशले भोग्नुपरेको समस्याका बारेमा धारणा राख्ने
यसैबीच उपप्रधानमन्त्री सिंहले महासभामा नेपालले खासगरी विश्व समुदायलाई संविधानसभाबाट संविधान बनेपछि अब मुलुक शान्ति, विकास र स्थिरताको बाटोमा अघि बढ्ने सन्देश दिन चाहेको बताउनुभएको छ ।

यहाँस्थित पत्रकारहरुसँग विमानस्थलमा कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले गरिबी निवारण, आतङ्कवाद निर्मूल, जलवायु परिवर्तन जस्ता विश्वले भोगेको साझा समस्यासहित विकासोन्मुख देशले भोग्नुपरेको समस्याका बारेमा पनि कुरा उठाउने बताउनुभयो ।

प्रतिक्रिया