उमाविमा दरबन्दी वितरण हुन सकेन

इनेप्लिज २०७२ असोज ८ गते १:५५ मा प्रकाशित

बैतडी, ८ असोज । बैतडीमा उच्च माध्यमिक विद्यालयका लागि आएको दरबन्दी अझै वितरण हुन सकेको छैन ।

छिमेकी जिल्लामा दरबन्दी वितरण भएर शिक्षकसमेत नियुक्त गरिसक्दा बैतडीमा भने दरबन्दी वितरणको कुनै छाँटकाँट देखिएको छैन । उच्च माध्यमिक तहको दरबन्दी वितरणका लागि गत महिना जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक लीलाधर बबालको संयोजकत्वमा समिति गठन गरेको भएपनि सो समितिले समेत दरबन्दी वितरणमा कुनै प्रगति गर्न सकेको छैन ।

जिल्ला शिक्षा अधिकारी अमर भट्टले स्थानीय विकास अधिकारी जिल्लामा नभएकाले निर्णय गर्न नसकेको बताउनुभयो ।

एसएलसी पूरक परीक्षाभन्दा पहिला नै दरबन्दी वितरणको समस्या समाधान हुने बताउँदै उहाँले अब भने पूरकमा उत्तीर्ण भएका विद्यार्थी भर्ना भएपछि मात्रै दरबन्दी वितरणको काम सम्पन्न हुने उल्लेख गर्नुभयो ।

शिक्षा विभागले यस वर्ष बैतडीका उच्च माध्यमिक विद्यालयका लागि ३५ दरबन्दी सिर्जना गरेको छ ।

प्रतिक्रिया