शिवालय मन्दिर संरक्षणमा स्थानीयवासी

इनेप्लिज २०७२ असोज ७ गते २:०८ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), ७ असोज । म्याग्दी सदरमुकाम बेनीका बासिन्दा खुल्ला मञ्च नजिकै रहेको चार सय वर्ष पुरानो शिवालय मन्दिर संरक्षणमा जुटेका छन् ।

प्रचारप्रसार र संरक्षणको कमीले ओझेलमा परेको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वको शिवालय मन्दिरलाई व्यवस्थित बनाउन स्थानीयवासीले सक्रियता देखाएका हुन् । बाइसे चौबिसे राज्यका पालामा तत्कालीन मल्ल राजाले स्थापना गरेको यस मन्दिर अरूभन्दा फरक छ ।

गजुरका रुपमा विशाल वरको रूख रहेकाले यस मन्दिरको धार्मिक र ऐतिहासिक मात्र नभई पर्यटकीय सम्भावना पनि देखिएको छ । तत्कालीन ज्यामरुककोटे राजा भर्तिबम मल्लले पूजाआजाका लागि शिवालय मन्दिर स्थापना गरेका थिए । यो मन्दिर चार सय वर्ष पुरानो भएको शिवालय मन्दिर संरक्षण समितिका सचिव सुन्दर केसीले बताउनुभयो ।

शिवको मूर्ति र शिवलिङ्ग रहेको यस मन्दिरमा दैनिक पूजाआजाका लागि एक पुजारी र सरसफाइ गर्ने अर्को एक कर्मचारीको व्यवस्था गरिएको छ । यस स्थानमा आपत्विपत्मा परेकाले दर्शन र पूजाआजा गरेमा समस्या टर्ने जनविश्वास रहेको छ

समितिको प्रयासमा रूखको भार र जराका कारण जीर्ण बनेको मन्दिरमा लगाइएको कलात्मक ढुङ्गाको पर्खाललाई प्लास्टर गरिनुका साथै पूजास्थल र दीपप्रज्वलन गर्ने ठाउँ बनाइएको छ । मन्दिरलाई थप व्यवस्थित र संरक्षण गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्य राखिएको समितिका कोषाध्यक्ष पूर्णबहादुर जिसीले बताउनुभयो ।

प्रतिक्रिया