औषधालयमा स्वास्थ्यकर्मी र औषधि नहुँदा समस्या

इनेप्लिज २०७२ असोज ७ गते १:५६ मा प्रकाशित

medical-storeभीमदत्तनगर, ७ असोज । खण्डेश्वरी गाविसमा रहेको आयुर्वेद औषधालयमा दुई महिनादेखि औषधि र दक्ष जनशक्ति नहुँदा स्थानीयवासी सेवा लिनबाट वञ्चित भएका छन् ।

चालु आवको सुरुवातमा दुर्गम गाविस खण्डेश्वरीमा खोलिएको औषधालयमा औषधिको नाममा केही पनि छैन । खण्डेश्वरीका स्थानीयवासी कल्यान सिंह बोहरा औषधालयमा स्वास्थ्यकर्मी तथा औषधि नहुँदा अस्पताल आफैँ थला पर्ने अवस्थामा रहेको बताउनुहुन्छ ।

“औषधालय उद्घाटन गर्दा तामझाम गरियो, तर सेवा केही छैन”, उहाँले भन्नुभयो । औषधालय खुलेको दुई महिना बितिसक्दा पनि हालसम्म दक्ष जनशक्ति पठाएको छैन । कार्यालय खोल्ने काम भए पनि सेवा पाउन नसकेको बोहराको भनाइ छ । औषधालयमा औषधि नै नभएको आयुर्वेद औषधालय खण्डेश्वरीका कार्यालय सहयोगी विष्णुसिंह विष्टले बताउनुभयो ।
जिल्ला आयुर्वेद औषधालयका प्रमुख रीना पालले भन्नुभयो–“जिल्लाबाट कर्मचारी पठाउँदा थप भत्ता दिन पैसा छैन, थोरै तलबमा विकट ठाउँमा जान कर्मचारी मान्दैनन् ।” औषधालय स्थापनाका बखत कार्यालय सहयोगीका रुपमा पठाइएका रमेश सिंह भण्डारी अहिले जिल्लामै बस्दै आउनुभएको छ ।

प्रतिक्रिया