गौशालामा लाखौँको लुटपाट

इनेप्लिज २०७२ असोज ६ गते ४:३५ मा प्रकाशित

महोत्तरी, ६ असोज । महोत्तरीको गौशालामा गएराति हतियारधारी डकैती समूहले लाखौँको लुटपाट गरेको छ । गएराति करिब १२ बजे गौशाला नगरपालिका–८ का गणेश मोहन साहको घरमा २० जनामा आएको हतियारधारी समूहले कुटपिट गर्दै रु २५ लाख बराबरको लुटपाट गरेको पीडितले बताएका छन् ।

उमा सेलर मिलको सञ्चालकसमेत रहेको साहको घर पछाडिकोे पर्खाल तोडी भित्र प्रवेश गरी ती समूहले सुन र चाँदी गरी १० तोला, दुई बन्डल रिचार्ज, साढे तीन लाख नगद लुटपाट गरेको पीडित उमा साहले बताउनुभयो । सो समूहले घरभित्रै दुई राउन्ड फायरसमेत गरेको पीडित गणेश मोहनले बताउनुभयो ।

डाँका घरभित्र प्रवेश गर्नासाथ निजका छोरा ३ वर्षीय कृष कुमारलाई नियन्त्रणमा लिई पेस्तोल तेस्र्याएर लुटपाट गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनास्थलबाट ९ एमएमको गोलीको खोका फेला परेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो । सो घटनाका बारे थप अनुसन्धानका साथै उक्त समूहको खोजी भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया