बौद्धिक अपाङ्ग स्रोत कक्षा सञ्चालनमा आर्थिक समस्या

इनेप्लिज २०७२ असोज ५ गते ४:२६ मा प्रकाशित

बेनी (म्याग्दी), ५ असोज । जिल्लामा पहिलोपटक विशेष कक्षा सञ्चालन गर्ने अवसर पाउँदा जिल्लाको पुलाचौर गाविस बगुवाखोलास्थित बालजागृति प्राविमा विद्यालयका संस्थापक एवम् प्रधानाध्यापक भक्तबहादुर कार्की निकै उत्साहित हुनुहुन्थ्यो तर कक्षा सञ्चालनको तीन वर्ष बित्न नपाउँदै उहाँले अवसरसँगै चुनौतीको सामनासमेत गर्नु परेको छ ।

जिल्लाकै एक मात्र बौद्धिक अपाङ्ग स्रोत कक्षा सञ्चालन गरिरहेको विद्यालयका विद्यार्थीको दैनिक गतिविधि सञ्चालन गर्न प्रवासी नेपालीको सहयोग भइरहेको भए तापनि स्थायी स्रोतको अभावमा कक्षा सञ्चालन गर्न समस्या देखिएको छ । जिल्ला शिक्षा कार्यालय म्याग्दीमार्फत गत शैक्षिकसत्रमा सञ्चालन भएको कक्षामा विद्यार्थीको चाप बढ्न थालेपछि आवश्यक खर्च र पूर्वाधारको अभाव भएको विद्यालयका प्रधानाध्यापक कार्कीको भनाइ छ ।

जिल्ला शिक्षा कार्यालय म्याग्दीले वार्षिक रुपमा ‘क’ वर्गको छात्रवृत्तिबापत रु ६ लाख, एक आयामलाई मासिक रु ६ हजार उपलब्ध गराउँदै आएको भए पनि त्यो सहयोगबाट मात्र विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले प्रवासी नेपाली तथा विभिन्न सङ्घसंस्थासँग सहयोगको अपिल गरिएको प्रअ कार्कीले बताउनुभयो । हाल विद्यालयमा दुई स्रोत शिक्षक रहेका छन् । औषधि उपचार, अन्य खर्च, सुरक्षा, भवन अभाव, विद्यालय नजिकै म्याग्दी खोला र सडक रहेकाले रेखदेख गर्ने कर्मचारीको समेत कमी भएको विद्यालयले जनाएको छ । जिल्लाका विभिन्न गाविसबाट २६ जना आवासीय सुविधासहित अध्ययनरत छन् । विद्यार्थीका लागि आमा समूह, युवा क्लबलगायत सामाजिक सङ्घसंस्थाले मुठी दान तथा लत्ताकपडा सहयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया