बजेट अभावमा प्रयोगशाला प्रयोगविहीन

इनेप्लिज २०७२ असोज ४ गते ४:२६ मा प्रकाशित

ilam_nepal_mapइलाम, ४ असोज । चियाको माटो परीक्षण गर्न चार वर्षअघि सूर्याेदय नगरपालिकाको फिक्कलमा स्थापना गरिएको माटो परीक्षण प्रयोगशाला बजेट अभावमा प्रयोगविहीन भएको छ ।

चियाखेती गर्न चाहने किसानलाई लक्षित गरेर स्थापना गरिएको प्रयोगशाला सञ्चालन नहुँदा किसान समस्यामा परेका छन् । प्रयोगशाला नचल्दा उपकरणसमेत काम नदिने स्थितिमा पुग्न लागेको आयोजनाले जनाएको छ ।

माटोमा विभिन्न किसिमका अम्लियपना देखिएका कारण विज्ञले माटो परीक्षण गरेर मात्र चियाखेती गर्न सुझाव दिन थालेका छन् । तर प्रयोगशाला गर्ननै बजेट नहुँदा प्रयोगमा ल्याउन नसकिएको आयोजना प्रमुख देउकुमार सिगु बताउनुहुन्छ ।

प्रयोगशालामा माटो परीक्षणका लागि आवश्यक मेसिन तथा औजार भए पनि सरकारले बजेट विनियोजन नगर्दा माटो परीक्षण हुन सकेको छैन् ।

“प्रयोगशालामा दक्ष प्राविधिकसमेत भेटिएको थियो तर सरकारले प्रयोगशाला सञ्चालन गर्न लाग्ने खर्च र प्राविधिकलाई दिनुपर्ने पारिश्रमिकको व्यवस्थापन नगर्दा सञ्चालन गर्न सकिएको छैन,” सिगुले भन्नुभयो ।

एक वर्षमा रु आठ÷दश लाखको रसायन र रु चार÷पाँच लाख बराबरको प्राविधिक खर्च हुँदा प्रयोगशाला प्रयोगमा ल्याउन सकिने उहाँले बताउनुभयो ।

यहाँ चियाका लागि फस्फोरस, नाइट्रोजन र पोटासको जाँच गर्ने डिजिटल माइक्रो न्युटन एनलाइजरजस्ता उपकरण छन् ।

चिया अनुसन्धान, माटो परीक्षण, टि–टेस्टिङ गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिए पनि प्रयोगशाला सञ्चालन गर्नै सकिएको छैन् । प्रयोगशाला सञ्चालनमा नआउँदा चिया किसानले माटो परीक्षण बिनै चियाखेती गरिरहेका छन् ।
चियाखेती गर्दै आएका इलामका आठ हजारभन्दा बढी किसान तथा पाँचथर, झापा, तेह्रथुम, उदयपुर र धनकुटामा गरी २५ हजार चिया किसानले सात हजार ६५५ हेक्टर क्षेत्रफलमा चियाखेती गर्दै आएको आयोजनाले जनाएको छ ।

बजेट अभावमै प्रयोगविहीन बनेको प्रयोगशाला कसरी सञ्चालनमा ल्याउने भन्नेबारेमा सरोकारवालासँग छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया