जनताको जीत: ६८ वर्षीय दमरोगीमा छाएको खुशी…

इनेप्लिज २०७२ असोज ३ गते १५:१५ मा प्रकाशित

काठमाडौँ, ३ असोज । नयाँ संविधान आएको सुनेपछि नेपाल मेडिकल अस्पताल जोरपाटीमा उपचाररत ८६ वर्षीय रामबहादुर अधिकारीको मुहार एकाएक बदलियो ।

मुलुकमा संविधानसभाको विषयले चर्चा पाउनु दुई दशकअघि जन्मनुभएका अधिकारीले आज केहीबेर भएपनि आफ्नो शरीरको पीडा भूलेर नयाँ संविधानलाई सम्झनुभयो । उमेर, रोग, भूकम्पको झट्का र निमोनियाले गलेका पूर्व सुरक्षाकर्मी अधिकारीलाई उहाँका आफन्तले संविधान जारी भएको सुनाएका थिए । अस्पतालको शय्यामा उहाँले हर्षका आँशु खसाल्नुभयो ।

राणाकालमा जन्मेर पञ्चायत सरकारको खटनमा नेपाल प्रहरीमा लामो समय काम गरेका काभ्रेको धुलिखेल अधिकारीगाउँका यी वृद्ध अधिकारीलाई प्रजातन्त्रप्रतिको आस्था भने पहिल्यैदेखि नै थियो भने अवकाशपछिको जीवनमा राजनीतिबारे निरन्तर चासो दिनुहुन्थ्यो । यसपटक अस्पतालमा भर्ना भएका कारण उहाँले संविधान जनतासमक्ष घोषणाको प्रत्यक्ष दृश्य टेलिभिजनमा हेर्न नपाएपनि त्यो ऐतिहासिक घटनाको जानकारी लिनुभयो ।

“संविधान त आयो, अब मुलुक सम्हालिए हुन्थ्यो । अब निहुँ खोज्ने र भाग खोस्ने काम मात्र नहोस्” अधिकारीले भन्नुभयो, “मधेसी दललाई पनि हात लिन सकेको भए राम्रो हुन्थ्यो”

अधिकारीलाई जस्तै युवा पुस्तामा संविधान घोषणाछि झन् उत्साह थपिएको छ । संविधान घोषणास्थल संविधानसभा भवन अगाडि आएका ज्ञानोदय उमावि शिक्षक केदार खनाल भन्नुहुन्छ, “युगदेखिको प्रतीक्षा पूरा भएको छ । अब विकास निर्माणका काम अघि बढ्लान्, शिक्षा क्षेत्रमा पनि सुधार होलान् भन्ने अपेक्षा गरेको छु ।”

नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत संविधानसभाबाट संविधान बनाउने करिब सात दशकको सपना आज पूरा भएको छ । यहाँसम्म आइपुग्न जनताले विभिन्न चरणमा गरेका सङ्घर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको संस्थागत गराउन संविधान कोसेढुङ्गा हुनेछ ।

राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको ऐतिहासिक बैठकमा ‘नेपालको संविधान, २०७२’ जनतासमक्ष प्रारम्भ भएको घोषणा गरिएको दृश्य घरमा टेलिभिजन हेरेर सन्तुष्ट नभई सडकमा ऐतिहासिक दिनको स्मरण गर्न बानियाँटारबाट नयाँबानेश्वर आएका तनहुँका चन्द्रिमा ढकालले जीवनमा यस प्रकारको उत्सव र जनतामा खुशी अहिलेसम्म आफूले नदेखेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानसभा बेहुली झैं सजिएको छ, यो खुसी सबै नेपालीमा फैलियोस् ।”

वास्तवमा रामेश श्रेष्ठको गीतमा भनिए झैँ
‘एक जुगमा एक दिन एक पटक आउँछ
उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ ।”

प्रतिक्रिया