भूकम्पको पीडा भुलाउन सामुदायिक केन्द्र स्थापना

इनेप्लिज २०७२ असोज २ गते ५:०१ मा प्रकाशित

बनेपा, २ असोज । भूकम्पका कारण त्रसिद जीवनयापन गरेका बालबालिका, महिलालगायतलाई लक्षित गरेर धुलिखेलमा सामुदायिक केन्द्र स्थापना भएको छ ।

रेडियो नमोबुद्ध १०६.७ मेगाहर्ज धुलिखेलले भूकम्पका कारण मनोसामाजिक समस्या अझै पनि रहेका व्यक्तिलाई लक्षित गरेर काभ्रेपलाञ्चोक र आसपासमा रहेका पीडितलाई आफ्ना भोगाइ र अनुभव बाँड्न त्यस्तो केन्द्र स्थापना भएको स्टेसन म्यानेजर भक्त स्याङ्तानले जानकारी दिनुभयो ।

उहाँले भूकम्पपीडितले आफूले भोगेका दुःख, कष्ट बाँडेर मनोसामाजिक समस्यामा रहेकाका लागि समस्या समाधान गर्न रेडियो माध्यम प्रभावकारी हुने बताउनुभयो ।

असाध्यै समस्या रहेछ भने हामीले धुलिखेल अस्पतालमा पनि पु¥याउने व्यवस्था गरेका छौँ उहाँले भन्नुभयो । अमार एसिया प्यासिफिकको आर्थिक सहयोगमा स्थापना भएको सो सामुदायिक केन्द्रमा भूकम्पका कारण मनोसामाजिक समस्यामा रहेकालाई चिया, कफी आरामका लागिसमेत छुट्टै कक्षको व्यवस्था रेडियोमा नै गरिएको छ । गत वैशाख १२ गते भूकम्प गएको करिब पाँच महिनापछि यो केन्द्र स्थापना भएको हो ।

धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा राजेन्द्र कोजुले मिडियाले गर्न लागेको सामुदायिक केन्द्रले पीडितको पीडा भुलाउन सहयोग गर्ने उल्लेख गर्दै जसले आफन्त गुमाएका छन्, उनीहरुले भूकम्पको पीडा भुल्न सकेका छैनन् भन्नुभयो ।

जनअधिकार संरक्षण मञ्चकी अध्यक्ष कृष्णप्यारी नकर्मीले भूकम्पपछि मनको राहत दिने केन्द्र आवश्यक भएकोमा जोड दिँदै यो केन्द्र मनको वह पोख्ने थलोको रुपमा रुपान्तरण हुने र यसबाट पीडितले धेरै लाभ उठाउन सक्ने बताउनुभयो ।

प्रतिक्रिया