सुदूरमा ‘बन्ढुनी पर्व’ मनाइयो

इनेप्लिज २०७२ असोज २ गते ४:२४ मा प्रकाशित

भीमदत्तनगर, २ असोज । सुदूरपश्चिमको मौलिक पर्व ‘बन्ढुनी’ धूमधामका साथ शुक्रबार यहाँ मनाइएको छ । बन्ढुनी अर्थात् यसलाई स्थानीय भाषामा ‘बूढी पोल्ने पर्व’ भन्ने गरिन्छ ।

प्रत्येक वर्ष असोज सङ्क्रान्तिका दिन मनाइने यस पर्वमा राक्षस पुतनाको पुत्ला बनाई आगो लगाई जलाउने गरिन्छ । यो पर्व सुदूरपश्चिमको डडेल्धुरास्थित पोखरा बजारमा भव्यताका साथ मनाइने गरिन्छ ।

यस वर्ष पनि बन्ढुनी पर्वका अवसरमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा डेउडा खेल, विभिन्न नृत्यलगायतका नाचगान प्रस्तुत गरिएका थिए ।

भगवान् श्री कृष्णले द्धापरयुगमा कंसले कृष्ण मार्न पठाएको पुतनालाई मारेको सम्झनामा यो पर्व मनाउने चलन चलिआएको बूढापाका बताउँछन् । भदौ १ गतेका दिन लिङ्गो गाड्ने र त्यही लिङ्गोमा राक्षसी पुतनाको पुत्ला बनाई जलाउने गरिन्छ ।

साँझ पख दियालो बाली र कपालजस्तो कुशको आकृति बनाई घर वरिपरि दियोलो घुमाइ, गाईबाच्छी पाल, बूढी निकाल भन्ने नारा लगाइन्छ । कंसले कृष्ण मार्न प्रयोग गरेकी पुतनालाई प्रतिकात्मक रुपमा बूढी भन्ने गरिएको हो । यसरी नारा पछि बूढीको पुत्ला बनाएको ठाउँमा जम्मा भई सबै जनाले फेरि त्यही नारा लगाउँदै एक साथ पुल्ता जलाउने गरिन्छ । यसो गर्नाले रोगव्याधी र अनिष्ट हट्ने जनविश्वास रहिआएको छ ।

यसैगरी सुदूरपश्चिमका विभिन्न स्थानमा पनि विभिन्न कार्यक्रमका साथ बन्ढुनी पर्व मनाइयो ।

प्रतिक्रिया