जाजरकोटमा गाईभैँसी गोठमा असुरक्षित सुत्केरी हुने क्रम रोकिएन

इनेप्लिज २०७२ असोज २ गते १:४३ मा प्रकाशित

जाजरकोट, २ असोज । यहाँका ग्रामीण क्षेत्रका महिला अझै पनि गाईभैँसी गोठमा असुरक्षित रुपमा सुत्केरी हुने क्रम नघटेको पाइएको छ ।

जिल्लाको खगेनकोट, रग्दा, भगवती, नायकवाडा, रोकायगाउँ, रामीडाँडा, पैक, सक्ला, लहँ, डाडाँगाउँलगायतका दुई दर्जन गाविसका महिला अहिले पनि गाईभैँसी गोठमा सुत्केरी हुने क्रम नरोकिएको स्थानीय महिलाले बताएका छन् ।

यहाँका ग्रामीण भेगमा छुट्टै गाईभैँसी बाँध्ने गोठ नहँुदा एउटै घरको माथि तलामा मानिस र तल्लो तलामा पशु चौपाय बाध्ने हुँदा सुत्केरीमा छुट्टै कोठाको अभावमा यो समस्या आएको महिलाले बताएका छन् । प्राय स्थानीयको दुई तले घर हुने गर्दछन् । दुई तलामध्ये माथि एक कोठामा अन्न, अन्य सामग्री राख्ने ठाउँ अर्को कोठामा भान्सा भएका कारण पशुचौपाय बाँध्ने कोठामा एक कुनामा सफा गरेर सुत्केरी हुनुपर्ने बाध्यता भएको खगेनकोट–५ की विष्णुुकमारी खत्रीले बताउनुभयो ।
न्वारन भएको २१ दिनसम्म पशु चौपाय बाँध्ने ठाउँमा बस्ने गरिन्छ, न्वारन पछि घरको सबै काम गरे पनि देवता रिसाउने भन्दै घरभित्र प्रवेश गर्नदेखि कुनै पनि परिवारका सदस्यलाई छुन दिने गरिँदैन । सुत्केरी भएको २१ दिनसम्म दही, दूध, देवता रिसाउँछ भन्दै सुत्केरीलाई खाना नदिने गरेको सक्ला–१ की सरिता खत्रीले बताउनुभयो ।

जिल्लाका अधिकांश ठाउँमा पशुचौपाय बाँध्नका लागि छुट्टै गोठ निर्माण नगरी एउटै घरको तल पशु चौपाय माथि मानिस बास्दा निकै समस्या आएको महिला स्वयम्सेविका बताउँछन् । पशु चौपाय बाँध्नका लागि गोठ छुट्टै भएको भए यहाँका अधिकांश मानिस निरोगी हुने र छिट्टै रोगले नछुने जीवनका लागि स्वास्थ्य कार्यक्रमका संयोजक विश्वनाथ खत्रीको भनाइ छ ।

पशु चौपाय कम पालन गर्ने ठाउँमा गोठमा सुत्केरी हुने क्रम ह्वात्तै घटे पनि पशु चौपाय पालन गर्ने ठाउँमा भने गोठमा सुत्केरी हुने क्रम नरोकिएको नायकवाडाकी स्वयम्सेविका कृष्णकुमारी शाहीले बताउनुभयो ।

खगेनकोटकी सीता खत्री भन्नुहुन्छ “मेरा सबै छोराछोरी गाईभैँसी बाँध्ने गोठमै जन्मिएको हो, बाध्यता थियो, ठाउँ थिएन, कहाँ जानु त्यही गाईभैँसी बाँध्ने कोठा रोजे अनि छोराछोरी जन्माए ।” सुत्केरी व्यथा लाग्नासाथ स्वास्थ्य संस्था लिनुभन्दा पनि गाईभैँसी बाँध्ने गोठमा लिएर सुत्केरी गराउने, गाउँका वैद्य बोलाउने काम हुन्छ, वैद्यले पनि सुत्केरी गराउन नसकेपछि डोकेमा बोकेर स्वास्थ्य संस्था लैजाने गरेको भगवतीस्थित हिमालय प्राविका प्रधानाध्यापक वुद्धिबहादुर बस्नेत बताउनुहुन्छ ।

प्रतिक्रिया