नेजा नाईटको तयारी पूरा

इनेप्लिज २०७२ असोज १ गते १४:५५ मा प्रकाशित

neajanight123

भर्जिनिया,सेप्टेम्बर १८ | नेपाल अमेरिका पत्रकार संघ नेजाको समन्वयमा आयोजना हुन लागेको नेजा नाईट २०१५ को तयारी पूरा भएको छ । भर्जिनिया र न्यूयोर्कमा हुन लागेको नेजा नाईट क्रमश: सेप्टेम्वर १९ शनिवार (भोली) र २७ तारिखमा हुने भएको छ । भर्जिनियाको कार्यक्रमको तयारी अधिकांश रुपमा पूरा भएको जानकारी नेजाका यस क्षेत्रका उपाध्यक्ष विश्व थापाले दिनु भएको छ। ‘हामीले अधिकतम सहभागिता होस् भनेर भर्जिनियामा रहेका समुदाय तथा नेजाका सदस्यहरु, शुभेच्छुक तथा शुभचिन्तकहरुको समेत सहभागीतामा यो कार्यक्रम गर्दैछौं, सबैले सहयोग गरिरहनु भएको छ’ थापाले अगाडि थप्नु भयो ।
अमेरिकामा विभिन्न शहरमा हुने कार्यक्रमका लागि नेपालबाट आएका  हाँस्य कलाकार जितु नेपाल,लोक दोहोरी गायक/गायिका बद्री पगेनी र शिला आलेसहित निर्मला खड्का (निरु)को साथमा मनोज ढकाल र कृष्ण ढकाल (ढकाल व्रदर्स) लगायतका कलाकारहरुले आ आफ्नो गीत,नृत्य र हाँस्य व्यंग्य प्रस्तुतीमार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नु हुनेछ | यसमा प्रहसन, विभिन्न लोक दोहोरी तथा नृत्य समेत समावेश गरिएको छ । यो टोलीलाई  वर्ल्ड विजनेश एण्ड म्यानेजमेन्ट कन्सलटेन्टका बुद्धिप्रसाद रेग्मीले अमेरिकामा प्रस्तुतीका लागि ल्याएका हुन् | भोली भर्जिनियामा हुने कार्यक्रममा आफ्नो प्रस्तुतीका लागि आफुहरु निकै उत्साहित रहेको कलाकारहरुले बताएका छन् |
यसैबीच भोली भर्जिनियामा हुने नेजा नाइटमा आयोजक र कलाकारहरुलाई हौसला प्रदान गर्न अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्की समेत सहभागी हुनु हुने आयोजक नेजाका अध्यक्ष गौतम दाहालले जानकारी दिनु भएको छ | कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन नेजाले भोलीको कार्यक्रममा लोकप्रिय आधुनिक गायक रामकृष्ण ढकाललाई समेत सहभागी गराउने भएको छ | नेजाको आग्रहमा हाल अमेरिकामा नै रहनु भएका गायक ढकाल आफ्ना चर्चित र लोकप्रिय गीतसहित कार्यक्रममा प्रस्तुत हुन लाग्नु भएको हो |
कसको के ?
नेजा नाईटको लागि जितु नेपालले व्यङ्ग भरिएको विभिन्न कार्यक्रमहरु गर्नेछन्  । उनले नेपालको राजनीतिक दाउपेचलाई तीखो व्यंग्य कस्नेछन् । उनले अमेरिका आउनका लागि गरिने प्रयत्नका वारेमा समेत व्यङ्ग कस्ने छन् ।
बद्री पंगेनी लोक गीतमा जमेका अर्का कलाकार वद्रीले लोक गीत मार्फत आफनो प्रस्तुति दिने छन् । उनले नेपालको भुकम्प पश्चातको अवस्थाका वारेमा समेत गीत मार्फत सम्बोधन गर्नेछन् ।
निरु खडकाले आफनो नृत्य प्रस्तुति गर्नेछिन भने उनले प्रहसन मार्फत पनि दर्शकहरुलाई हँसाउने छिन् ।
नेपालको लोकगीतको क्षेत्रमा चर्चित भएकी शिला आलेले आफनो सुरिलो स्वरले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिनेछिन् ।
यसै गरी गायकहरु मनोज ढकाल र कृष्ण ढकालले समेत आफनो आफनो गीत मार्फत दर्शकहरुलाई भरपुर मनारञ्जन दिने छन् ।
 भर्जिनियाको फेयरफयाक्स स्थित लेनियर मिडिल स्कूलमा आयोजना हुने नेजा नाईटमा कलाकरहरुले स्थानीय समय अनुसार साँझ सात वजेदेखि दश वजेसम्म आफनो प्रस्तुति मार्फत दर्शकहरुलाई पेट मिचिमिचि हसाउने छन् । नृत्य र गीत मार्फत मनारेञ्जन दिने छन भने तिखो व्यङ्ग मार्फत दर्शकलाई ताली पिट्न लगाउने छन् । कार्यक्रम साँझ सात बजे नै सुरु हुने जानकारी नेजाका उपाध्यक्ष थापाले दिनु भएको छ | ‘हामी यो कार्यक्रम निर्धारित ठ्याक्कै सात बजे नै सुरु गर्छौं,त्यसैले टिकट लिईसक्नु भएका सबै दर्शकहरुलाई साँझ ६:४५ बजेभित्र हलमा प्रवेश गरिसक्नु हुन अनुरोध गर्छौं’ थापाले भन्नुभयो |
भर्जिनियामा हुने यो कार्यक्रम सम्पन्न गर्नका लागि नेजा अध्यक्ष गौतम दाहाल, सल्लाहकारहरु गिरिश पोखरेल, कृष्णप्रसाद शर्मा लागिपरेका छन् । यसै गरी क्षेत्रीय संयोजक विश्वराज थापासहित पूर्व पदाधिकारीहरु सुशील न्यौपाने ,गुणराज लुईटेल,विष्णु शीतलसहित लेखनाथ भण्डारी, कविन्द्र सिटौला,अंकुश नेपाल, केशर कार्की, भरत वराईली, परशु तिमल्सिना सहितको समूह आयोजकका रुपमा क्रियाशील छ । यसैगरी स्थानीय संघसंस्थाका प्रतिनिधीहरुले समेत सहयोगको लागि समुदायमा अनुरोध गरेका छन् ।
क्षेत्रीय संयोजक विश्वराज थापाले दिएको जानकारी अनुसार भर्जिनियावासी नेजा नाइटमा आउने  कलाकारहरुको प्रस्तुतिको हेर्नका लागि व्यग्र प्रतिक्षामा छन् । थापाले भने समुदायले नेजा नाईटको लागि सहयोगी भूमिका खेलेको छ | म यसै क्षेत्रको समेत भएकाले मलाई खुशी लागेको छ ।
उता न्यूयोर्कमा हुन लागेको नेजा नाईटको लागि पनि व्यापक तयारी भईरहेको छ । आगामी सेप्टेम्वर २७ तारिख आइतवार आयोजना गर्न लागिएको नेजा नाईटको प्रचार प्रसार व्यापक रुपमा गरिरहेको जानकारी क्षेत्रीय संयोजक भुपेन्द्र थापाले दिएका छन् ।

प्रतिक्रिया