प्राधिकरणमा मिटर नहुँदा उपभोक्ता समस्यामा

इनेप्लिज २०७२ भदौ २९ गते ३:०५ मा प्रकाशित

इलाम, २९ भदौ । मिटर बक्स नआउँदा उपभोक्ता समस्यामा परेका छन् । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय इलाम, फिक्कल शाखामा मिटरका लागि निवेदन दिए पनि उपभोक्ताले मिटर बक्स पाउन सकेका छैनन् ।

मिटर बक्स नपाएपछि छिमेकीको घरबाट तार जोडेर बत्ती बाल्नुपर्ने अवस्था सिर्जना भएको छ । दसैँमा आफ्नै घरमा मिटर जोडेर बिजुली बाल्ने सपना पनि अधुरै रहने भयो, नयाँ मिटरका लागि फिक्कलमा निवेदन दिएको छ महिना भइसक्यो, गोदक–४ का भक्तबहादुर बराइलीले भन्नुभयो– “प्राधिकरणले एउटा मिटरबाट एक घरमा मात्र बिजुली बाल्नुपर्छ भन्छ तर मिटर चाहीँ वितरण गर्दैन्, यो कस्तो बिडम्वना ।” आफ्नै घर छेउबाटै बिजुलीको मुख्य प्रसारण लाइन विस्तार भए पनि विद्युत् बाल्न अझै कति महिना कुर्नुपर्ला कुनै निश्चित छैन उहाँले भनुभयो ।

नेपाल विद्युत् प्राधिकरणमा मिटरका लागि इलाम शाखामा एक हजार ५०० र फिक्कल शाखामा एक हजार ग्राहकले नयाँ मिटर जडानका लागि निवेदन दिए पनि पाउन सकेका छैनन् । मिटर नपाएपछि उनीहरू कसैले छिमेकीको घरबाट त कोही अन्धकारमै बसिरहेका छन् । प्राधिकरणले असारदेखिनै मिटरका लागि आवेदन लिन छाडिसकेको जनाएको छ ।

मिटरबक्सको समस्या यहाँ मात्र नभएर अन्य ठाउँमा पनि रहेको छ, प्राधिकरण प्रमुख सीताराम सिग्देलले भन्नुभयो– “मिटरका लागि अन्तर्राष्ट्रिय टेण्डर भए पनि अझै आइपुगेको छैन, चीनबाट आउनुपर्ने भए पनि भन्सार नखुल्दा समस्या भएको छ ।”

प्रतिक्रिया