क्षतिपूर्तिसहित पुनःबहालीको माग

इनेप्लिज २०७२ भदौ २७ गते ३:२२ मा प्रकाशित

काठमाडौँ, २७ भदौ । क्यासिनो साङ्ग्रिलाका कर्मचारीले क्षतिपूर्तिसहित पुनःबहालीको माग गरेका छन् ।

शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पीडित सङ्घर्ष समितिका संयोजक अरविन्द झाले होटल साङ्ग्रिलाका सञ्चालक प्रसिद्धराज पाण्डेले करिब दुई वर्ष अगाडि क्यासिनो बिक्री गर्ने क्रममा त्यहाँ काम गरेका ४६७ कर्मचारीलाई श्रम ऐनअनुसार कुनै सुविधा उपलब्ध नगराएको र होटलले श्रम ऐन उल्लङ्घन गरी सेवाबाट वञ्चित गराएको आरोप लगाउँदै क्षतिपूर्ति तथा पुनःबहाली गराउन माग गर्नुभयो ।

सो अवसरमा सभासद् विनोद श्रेष्ठले क्यासिनोको खरिद बिक्री गर्दा सरकारले त्यहाँका कर्मचारीको अवस्थाका बारेमा बुझेर मात्र व्यवस्थापन हस्तान्तरण गर्नुपर्नेमा त्यसो नभएको बताउँदै व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा त्यसबारे छलफल चलाइने जानकारी दिनुभयो ।

समितिका सदस्य पुष्करनाथ योगीले मलेसियाको स्टार मेनेजमेन्टले पुनःक्यासिनो सञ्चालन गर्दा पुरानै कर्मचारीलाई नियुक्त गर्ने सर्तमा क्षतिपूर्तिको व्यवस्था गर्ने भनिए पनि ट्रेड युनियनका नेताहरुले होटल व्यवस्थापनबाट रु ४५ लाख खाएर आफूहरुको बिचल्ली बनाएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया