विद्यार्थीले किशोरकिशोरी मैत्री विद्यालय र प्रभावकारी स्वास्थ्य सेवा माग

इनेप्लिज २०७२ भदौ १९ गते ४:२४ मा प्रकाशित

जाजरकोट, १९ भदौ । जिल्लाका विद्यार्थीले किशोरकिशोरी मैत्री शिक्षण संस्था र प्रभावकारी स्वास्थ्य सेवा हुनुपर्ने माग गरेका छन् ।

जिल्ला शिक्षा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयमा ज्ञापनपत्र बुझाउँदै विद्यार्थीले जाजरकोटका विद्यालय किशोरीकिशोरी मैत्री नहुँदा आफूहरुले धेरै दुःख पाएको भन्दै त्यो समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।

विद्यार्थीले महिनावारी हँुदा विद्यालय नै छोड्न अवस्था आउने भन्दै समस्या समाधानका लागि कम्तीमा निमावि तहदेखि नै सेनेरिटरी प्याडको व्यवस्था गरिनुपर्ने बताएका छन् । किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा लागू भएका स्वास्थ्य संस्थाका सबै कर्मचारीलाई किशोरकिशोरी मैत्री सेवा, परामर्श र तालिमको व्यवस्था गरिनुपर्ने माग उनीहरुले गरेका छन् ।

विद्यालय र स्वास्थ्य संस्था एकै समयमा खुल्ने र बन्द हुने भएका कारण आफूहरुले स्वास्थ्य सेवा नपाएको भन्दै उपयुक्त समयमा स्वास्थ्य सेवा दिन आग्रहसमेत उनीहरुले गरेका छन् ।
सरकारले तोके बमोजिमका सबै सेवा स्वास्थ्य संस्थामा पाइनुपर्ने र गोपनीयताको महसुस गराउनुपर्ने विद्यार्थीको माग रहेको छ ।
निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीले विद्यार्थीका माग सबै जाहेज भएका कारण व्यापक छलफल हुने बताउनुभयो ।

प्रतिक्रिया