बनेपा गोसाइँथानमा गुरुकुल शिक्षा

इनेप्लिज २०७२ भदौ १८ गते ५:२६ मा प्रकाशित

बनेपा, १७ भदौ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित गोसाइँथानमा गुरुकुल शिक्षा दिन थालिएको छ ।

नैमिषारण्य संस्कृत गुरुकुल नाम दिइएको विद्यालयमा अहिले ६ कक्षासम्मको मात्रै अध्यापन भइरहेको गोसाइँथान नैमिषारण्य क्षेत्र विकास समितिका सल्लाहकार हरिमञ्जुश्रीले जानकारी दिनुभयो ।

उहाँले महेश संस्कृत गुरुकुल, देवघाट, तनहुँको सम्बन्धनमा सञ्चालन भएको गुरुकुल विद्यालय सञ्चालन गरेर त्यस क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो । अहिले सो शिक्षाका लागि १८ बटुक सहभागी भएका छन् ।

नैमिषारण्य विकास समिति, बनेपाका अनुसार ९ देखि ११ वर्षसम्मका बालकलाई कक्षा १ देखिको मान्यता दिने गरी गएको साउनदेखि भर्ना लिन थालिएको र कक्षा १ देखि १० सम्म झन्डै एक सय बालकलाई त्यस्तो शिक्षा दिने योजना रहेको छ । प्रस्तावित गुरुकुल विद्यालयको अध्यक्षमा संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेल अध्यक्ष हुनुहुन्छ । विद्यालयमा भोजपुर, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक लगायतका जिल्लाबाट विद्यार्थी सहभागी भएका छन् ।

काठमाडौँ विश्वविद्यालयका प्रशासन प्रमुख मुकुन्द उपाध्यायको अध्यक्षतामा २१ सदस्यीय व्यवस्थापन समितिसमेत गठन गरिएको छ । शास्त्रीसम्मको अध्ययनका लागि थप एक सयजना गरी हरेक वर्ष दुई सयजनालाई संस्कृत शिक्षा अध्यापन गराइने र एसएलसीसम्मको अध्ययनपछि बालकको चाहनाअनुसार विज्ञान वा अन्य विषय पढ्न चाहेमा त्यस्तो प्रावधानसमेत राखिने समितिले जनाएको छ ।

प्रतिक्रिया