सहकारीलाई सित्तैमा जग्गा दान

इनेप्लिज २०७२ भदौ १७ गते ४:४१ मा प्रकाशित

गोरखाबजार, १७ भदौ । तरकारी खेतीको पकेट क्षेत्र गोरखाको घ्याल्चोकका स्थानीय किसानले सहकारीलाई १६ आना जग्गा दान गरेका छन् ।

सामूहिक कृषि सहकारी संस्थाको भवन निर्माण गर्न घ्याल्चोक–९ का किसान श्रीकृष्ण पौडेल, झम्कबहादुर मगर, चन्द्रबहादुर श्रेष्ठ र देवीमाया रेग्मीले चार÷चार आना क्षेत्रफलको जग्गा दान गर्नुभएको हो ।

तरकारी सङ्कलन गरी बिक्री–वितरणका लागि सहकारीले विभिन्न ठाउँमा सङ्कलन केन्द्र भवन निर्माण गर्ने जनाएको छ । घ्याल्चोक–५ को सामुदायिक भवन, ९ को गाविस भवन र ५ को वडहरे क्षेत्रमा नयाँ भवन निर्माणको प्रक्रिया सुरु गरिसकेको सहकारीका अध्यक्ष भूमि रेग्मीले जानकारी दिनुभयो ।

आठ सय किसानले घ्याल्चोकमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । “तरकारी बेचेर वार्षिक रु १० करोड भित्रिन्छ”–रेग्मीले भन्नुभयो–“तरकारी खेती विस्तारका लागि थप जग्गा खोज्दैछौँ ।” रु २० लाख बराबरको जग्गा सहकारीलाई प्राप्त भएको रेग्मीको भनाइ छ । किसानले काँक्रो, गोलभेँडा, फर्सी, घिरौँला, सिमी, आलु, भेडीँलगायत जातका तरकारी खेती गर्दै आएका छन् ।

तरकारी सङ्कलन केन्द्र भवन नहुँदा समस्या भएको भन्दै किसानले आर्थिक सहयोग सङ्कलन गरेर छिट्टै भवन निर्माण गर्ने जनाएका छन् । सिँचाइको सुविधा र यातायातको सहज पहुँच नहुँदा यहाँका किसानले बारीमा उत्पादन भएको तरकारी आधा घन्टा बोकेर पृथ्वीराजमार्ग छेउको बजार झार्नुपर्ने बाध्यता छ । उत्पादन भएको तरकारी काठमाडौँ, चितवन, पोखरालगायत सहरमा बिक्री गरिन्छ ।

प्रतिक्रिया