ताप्लेजुङ, १७ भदौ । सडक माथिबाट झरेको पहिरोले करिब ४० मिटर सडक पुरेपछि बिहानदेखि मेची राजमार्गअन्तर्गत ताप्लेजुङ–पाँचथर सडकखण्ड अवरुद्ध बनेको छ ।
मेची राजमार्गअन्तर्गत ताप्लेजुङको दोखुमा पर्ने खेक्से खोला छेउमा झरेको पहिरोले सडकको करिब ४० मिटर भाग पुरेको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । अवरुद्ध सडक स्काभेटर लगाई पन्छाउन सुरु गरिए पनि अझै ६÷७ घन्टा समय लाग्ने सडक डिभिजन कार्यालयका नवीन उप्रेतीले बताउनुभयो ।
निरन्तरको वर्षाका कारण सडक माथिबाट झरेको पहिरोले बाटो अवरुद्ध हुँदा ताप्लेजुङबाट बिहान ४ बजेदेखि छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन बीच बाटोमा नै रोकिएका छन् । अहिले पनि माथिबाट पहिरो झरिरहेको कारण सडकको ढुङ्गा पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ । निरन्तरको झरीकै कारण ताप्लेजुङ–पाँचथर सडकखण्डका दर्जनौँ ठाउँमा सानातिना पहिरो खसेका छन् ।
प्रतिक्रिया