महसुल नतिर्ने २९ ग्राहक कालोसूचीमा

इनेप्लिज २०७२ भदौ १७ गते ४:३० मा प्रकाशित

lightइलाम, १७ भदौ । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय इलामले महसुल नतिर्ने २९ जना ग्राहकलाई कालोसूचीमा राखेको छ ।

लामो समयदेखि विद्युत् सेवा प्रयोग गरेर महसुल नतिर्ने ग्राहकको लाइन काटेर कालोसूचीमा राखेको प्राधिकरणले जनाएको छ । महसुल बुझाउन पटकपटक ताकेता गरे पनि अटेर गर्ने ग्राहकलाई कालोसूचीमा राखेको प्राधिकरण इलामका प्रमुख सीताराम सिग्देलले बताउनुभयो ।

कालोसूचीमा पर्नेमा धेरैजसो व्यक्ति तथा उद्योग सञ्चालक रहेका छन् । उनीहरुले ६/७ वर्ष अगाडिदेखि महसुल नबुझाएपछि लाइन काटेर कालोसूचीमा राखेको प्राधिकरणले जनाएको छ । समयमै महसुल नबुझाउने ग्राहकबाट महसुल उठाउनका लागि प्राधिकरणले अभियान चलाउने तयारी गरेको छ ।

लक्ष्य अनुसारको काम गर्न दरबन्दी थप नहँुदा समस्या भएको प्राधिकरणले जनाएको छ । तीन नगरपालिकासहित ४० गाविसमा अहिले २९ हजार नौ सय २६ जना ग्राहकले बिजुली बाल्दै आएका छन् ।

प्रतिक्रिया