अलपत्र परेका यात्रुलाई खाना खुवाउन समस्या

इनेप्लिज २०७२ भदौ १७ गते ४:२७ मा प्रकाशित

पथरी (मोरङ), १७ भदौ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण अलपत्र परेका यात्रुलाई खाना खुवाउन स्थापना गरिएको भोजनालय बजेट र खाद्यसामग्रीको अभाव भएपछि चलाउन समस्या भएको छ ।

अलपत्र परेका यात्रु र यातायात मजदुरलाई लक्षित गरेर विराटनगर बसपार्कमा सञ्चालित निःशुल्क भोजनालय बजेट अभावले समस्यामा परेको हो । देशका विभिन्न ठाउँबाट गन्तव्यमा पुग्न नसकेका अलपत्र परेका यात्रु र नेपालका विभिन्न ठाउँबाट गाडी लिएर आएका यातायात मजदुरलाई पूर्व नेपाल यातायात व्यवसायी सङ्घ मोरङ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मोरङले भोजनालयको स्थापना गरेर खानाको व्यवस्था खुवाउन थालेको हो ।

दैनिक सात सयभन्दा बढी यात्रु र मजदुरलाई निःशुल्क खाना खुवाउँदै आएको सो भोजनालयले १५ दिनपछि बजेट र खाद्य सामग्री अभावमा भोजनालय चलाउन समस्याका कारण बन्द हुने अवस्थामा पुगेको जिफन्टका कोसी अञ्चल अध्यक्ष किशोर धमलाले बताउनुभयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मोरङका सचिव कृष्ण घिमिरेका अनुसार विराटनगर बसपार्कमा अहिलेसम्म अलपत्र परेका १० हजार यात्रु मजदुरलाई खाना खुवाइसकेका छन् ।

प्रतिक्रिया