एन आर एन ए अध्यक्ष पदमा कार्कीको उम्मेदवारी

इनेप्लिज २०७२ भदौ १६ गते २२:४१ मा प्रकाशित

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष पदको लागि टि.बि. कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको छैठौं विश्व सम्मेलनबाट उपाध्यक्ष पदको दायित्व सम्हालिसकेका कार्कीले गत सोमवार साँझमा कतारमा घोषणा कार्यक्रमको आयोजना गरी आउँदो विश्व सम्मेलनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् २००६ मा एन आर एन ए एन सि सि कतारको कार्यकारी सदस्य, २००७ देखि २००९ सम्म को तेश्रो गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आइसीसी सदस्य, २००९, २०११ को चौथो महाधिवेशनको कार्यकालमा सक्रिय रुपमा आवद्ध, २०११,२०१३ को पाँचौ विश्व सम्मेलनमा सचिव पदमा विजयी भई कार्यकाल सफल रहेको, २०१३, २०१५ को छैठौं विश्व सम्मेलनमा उपाध्यक्षमा पदमा विजयी भई निरन्तर गैर आवासीय नेपाली संघको विभिन्न गतिविधीमा सक्रिय रुपमा भूमिका निर्वाह गर्दै आएका हुन् ।
आफु उपाध्यक्ष रहँदाको कार्यकालमा वैदेशिक रोजगार तथा कल्याणकारी समितीको सभापति रहँदाको अवस्थामा १५ पटक बैदेशिक रोजगारको सम्बन्धमा नेपाल सरकारको श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा बैदेशिक रोजगारको सरोकारवालाहरुसंग समस्या निराकरणको लागि विभिन्न पहल गरेकोले मध्यपुर्वको जर्जर वैदेशिक रोजगार सम्बन्धी समस्या निराकरणका लागि पहिलो प्राथमिकता दिएर लाग्नका लागि पनि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
उपाध्यक्ष पद तथा वैदेशिक रोजगार तथा कल्याणकारी समितीको सभापति रहँदा वैदेशिक रोजगारलाई थप व्यवस्थित र मर्यादित बताउने सवालमा नेपाल सरकारको सहकार्यमा उच्च स्तरीय समितीमा गैर आवासीय नेपाली संघको प्रतिनिधि राख्न सफल भएको पनि बताए । नेपाली नियोगहरुमा गैर आवासीय नेपालीहरुलाई हेर्नको लागि एन आर एन फोकल प्वाइन्ट नियुक्त गर्न पनि सफल भएको स्मरण गराए ।
एन आर एन ए इन्भेस्टमेन्ट कम्पनी द्धारा जलविद्युत उत्पादन गर्ने कार्य भईरहेको र गैर आवासीय नेपाली संघको आफ्नै भवन निर्माणको लागि जमिन खरिद गरिसकिएको हुनाले भवन निर्माण कार्यलाई तिब्रगतिमा सम्पन्न गर्ने अति महत्वपुर्ण जिम्मेवारी अगाडि रहेको बताउँदै आफुले अध्यक्ष पदमा विजयी भई गएको अवस्थामा त्यसलाई सम्पन्न गर्न आफु पुर्ण रुपमा सक्षम सावित गरेर देखाउने कुरा बताए ।

गत बैशाख १२ गते देशको विभिन्न जिल्लाहरुमा महाभुकम्पले भौतिक संरचना तथा मानवीय क्षति पुर्याएको भुकम्पबाट अति प्रभावित १० जिल्लाका क्षतिग्रस्त क्षेत्रमा प्रत्यक्ष रुपमा सहभागी भई सक्रिय रुपमा कल्याणकारी अभियान समूहमा आफुले पनि महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए । विश्वभरबाट आएका ३०० भन्दा धेरै गैर आवासीय नेपाली संघका स्वयंसेवक क्षतिग्रस्त स्थलमा गई सेवा पुर्याएको पनि उनले स्मरण गराए । विश्वभरका गैर आवासीय नेपाली मित्रहरुले विगतको पदीय दायित्व बहन गरेको भूमिकाको मूल्यांकन गरी अझ बढि सक्रिय बनेर जिम्मेवारी दिन सबैमा आग्रह गरेका छन् । विगतको कार्यकालमा थाँती रहेका योजना र प्रतिबद्धतालाई पुरा गर्ने अठोट लिएर उनले कतारबाट २७ बुँदे एजेण्डा सहित अध्यक्ष पदमा उम्मेदवारीे घोषणा गरेका हुन् ।
सो उम्मेदवारी घोषणा कार्यक्रममा कतारमा रहेका विभिन्न बैचारिक संस्था जस्तै नेपाली जनसम्पर्क समिती, नेपाली सम्पर्क मञ्च, नेपाली जनप्रगतीशील मञ्च लगायतका कतारका विभिन्न आधा शतक संघ संस्थाका प्रतिनिधी तथा बुद्धिजीवी वर्ग लगायत २५० को हाराहारीमा उपस्थित रहेको थियो ।

प्रतिक्रिया