छानविन समितिले काम सुरु गर्‍यो

इनेप्लिज २०७२ भदौ १६ गते १४:४६ मा प्रकाशित

धनगढी, १६ भदौ । कैलालीको टीकापुरमा यही भदौ ७ गते भएको हिंसात्मक घटनाको छानविनका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले आजदेखि आफ्नो काम सुरु गरेको छ ।

छानविन समिति आजै कैलाली पुगेर छानविनको काम थालेको हो । समितिको टोली बिहीबार घटना भएको स्थान टीकापुर जाने बताइएको छ । उक्त घटनामा वरिष्ठ प्रहरी उपरीक्षकसहित आठ प्रहरी र एक बालक मारिएपछि सरकारले घटनाको छानविनका लागि राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।

समितिमा गृहमन्त्रालयका सहसचिव विनोद केसी, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक गणेश अधिकारी, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक प्रतापबहादुर थापा र शसस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक जीवन थापा सदस्य हुनुहुन्छ ।

टोलीलाई घटनाको कारण, संलग्नता, सुरक्षा कमजोरीका विषय अध्ययन गरी दोषीमाथि कारबाहीका लागि सिफारिस गर्नसमेत अधिकार दिइएको बताइएको छ ।

प्रतिक्रिया