लुम्बिनी (रुपन्देही), १६ भदौ । रूपन्देहीमा आर्थिक वर्ष २०७१/७२ मा सानो लगानीमा आधारित एक हजार ३६ वटा उद्योग दर्ता भएका छन् । अघिल्लो आव २०७०/७१ मा जिल्लामा एक हजार ६३ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
जिल्लामा हालसम्म नौ हजार तीन सय ३५ उद्योग दर्ता भएको कार्यालयले जानकारी दिएको छ । जसमा उत्पादनमूलक चार हजार ६ सय ५२, सेवामूलक दुई हजार सात सय ४७, कृषि तथा वनजन्य तीन सय ५५, पर्यटनसम्बन्धी एक हजार पाँच सय ७४ र ऊर्जामूलक सातवटा रहेका छन् । विभिन्न प्रकारका तालिम लिएर आत्मनिर्भर बन्नेको सङ्ख्या बढ्दै गएपछि उद्योग दर्ता गराउनेको सङ्ख्या बढ्दै जान थालेको कार्यालयले जनाएको छ । कार्यालयमा साना उद्योग अर्थात् रु तीन करोडभन्दा कम स्थिर पुँजी भएका उद्योग मात्र दर्ता हुने गरेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख डण्डपाणि भुसालले जिल्लामा लगानीको वातावरण बन्दै गएपछि उद्योग दर्ता गर्ने व्यवसायी थपिँदै गएको बताउनुभयो । आर्थिक वर्ष २०७१÷७२ मा कृषि तथा वनजन्य एक सय नौ, खाद्यान्नमा आधारित ५८, पेयपदार्थसम्बन्धी दुई, नर्सरी जडीबुटीका ११, कपडाजन्य एक, तयारी पोसाकसम्बन्धी १३, स्टिल फर्निचरका ६, छालाजन्य उत्पादन १८, काठ फर्निचर ७३, स–मिल चार, साबुन चार, सस एक, प्लास्टिकजन्य १२ र इँटा उद्योग पाँचवटा दर्ता भएका छन् ।
सिमेन्ट ब्लक उद्योग सात, मेटल वर्क ६१, पशुपक्षीका दाना उत्पादन गर्ने चार, होटल तथा रेस्टुरेन्ट दुई सय १६, ट्राभल टे«किङ ६, ढुवानी सेवा २१, प्रशिक्षण ३३, काउन्सिलिङ (परामर्श सेवा) २९ र खाद्यान्न प्याकेजिङसम्बन्धी १६ गरी एक हजार ३६ वटा दर्ता भएका भुसालले जानकारी दिनुभयो । मुलुकमै रूपन्देही सबैभन्दा बढी उद्योगधन्दा हुने जिल्लामा पर्छ । जिल्लाको वसन्तपुरमा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना भएको छ भने बुटवलमा औद्योगिक क्षेत्र छ । कार्यालय प्रमुख भुुसालले दर्ता हुने उद्योगमध्ये ८५ प्रतिशत उद्योग सञ्चालन हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुुभयो, “ती (दर्ता भएका) उद्योगमा करिब रु ५०/६० करोड लगानी हुने देखिन्छ ।” सरकारले रु तीन करोडसम्मका उद्योगलाई साना, रु तीन करोडदेखि १० करोडसम्मकालाई मझौला र रु १० करोडभन्दा धेरै लगानी भएका उद्योगलाई ठूला उद्योगमा दर्ता गर्ने गर्छ । नेपालमा ६ सय १२ ठूला, तीन हजार पाँच सय मझौला उद्योग सञ्चालनमा छन् भने साना उद्योग एक लाखभन्दा बढी रहेको बताइएको छ ।
प्रतिक्रिया