लामो समयसम्म परिवारका सदस्य बेपत्ता हुनु अकल्पनीय पीडा: मन्त्री आचार्य

इनेप्लिज २०७२ भदौ १४ गते १४:१६ मा प्रकाशित

narahari-acharyaकाठमाडौँ, १४ भदौ । कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले लामो समयसम्म परिवारका सदस्य बेपत्ता हुँदा अकल्पनीय पीडा हुने र यसको जतिसक्दो चाँडो छानबिन हुने बताउनुभएको छ ।

बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले राजनीतिक विषयलाई बढी प्राथमिकता दिँदा बेपत्ता पारिएका व्यक्तिको खोजी ओझेलमा परेको बताउनुभयो ।

मन्त्री आचार्यले शान्ति सम्झौतापछि छ महिनाभित्र बेपत्ताको खोजी गर्ने भनेर दलहरुबीच सहमति भए पनि त्यो समयमा पूरा नभएर अहिले त्यसका लागि आयोग गठन भएको र जतिसक्दो चाँडो सत्य, तथ्य पत्ता लगाउनेमा आफू आशावादी छु भन्नुभयो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि भौतिक स्रोत साधन व्यवस्था सरकारले गर्ने भन्दै उहाँले आयोगले सिफारिस गरेको जिम्मेवारी सरकारले ग्रहण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्य किरण गुरुङले बेपत्ता पारिएका व्यक्तिको अध्ययनका लागि आयोगले २१ जिल्लामा अध्ययनका क्रममा जाँदा सबैले ‘कि सास देउ कि लास देउ’ भन्ने माग गरेको बताउनुभयो ।

उहाँले यातनालाई अपराधीकरण गरिनुपर्ने र पीडितलाई सम्बोधन गर्न परिचयपत्रको पनि व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले १० वर्षे द्वन्द्वको समाप्तिको आठ वर्षपछि आयोग गठन भएको भए पनि भूकम्पका कारण सोचेअनुरुप काम अगाडि बढाउन नसकेको स्वीकार गर्नुभयो ।

मानवअधिकारकर्मी चरण प्रसाईंले बेपत्ता पारिएका व्यक्तिका परिवारलाई आयोगले न्यायको अनुभूति हुन सक्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

बेपत्ता परिवार राष्ट्रिय सञ्जालका अध्यक्ष रामकुमार भण्डारीले आयोगले विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको पालना गर्दै सर्वोच्च अदालतले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको विषयमा भएको फैसला मानेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया