पर्यटकीय महत्वको ठाकुरज्यू ताल संकटमा

इनेप्लिज २०७२ भदौ १४ गते १२:१५ मा प्रकाशित

जुम्ला, १४ भदौ । तालको पानी सुक्दै गएपछि जुम्ला र जाजरकोटको सिमानामा अवस्थित ठाकुरज्यू ताल संकटमा पर्दै गएको छ ।

ताल नै सुकेर चिरा परेपछि यसवर्ष गएका तीर्थालुले स्नान नगरेरै ठाकुरज्यू देवतालाई दर्शन गर्नुपरेको छ । बर्सेनि जाजरकोट, जुम्ला, डोल्पा, मुगु, सुर्खेत र कालीकोटका हजारौँ दर्शनार्थी साउन पूर्णिमामा ठाकुरज्यू तालका साथै देवताको दर्शन गर्न आउँछन् ।

वर्षैपिच्छे त्यहाँ जाने दर्शनार्थीले तालमा नुहाउने र देवताको दर्शन गर्ने गर्थे । चन्दननाथ नगरपालिका– १५ का स्थानीय मेघराज न्यौपानेले ठाकुरज्यू ताल सुकेको बताए । समुद्री सतहबाट ठाकुरज्यू ताल झन्डै चार हजार २०० मिटर उचाइमा पर्दछ ।

पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने अर्को विष्टज्यू तालको अवस्था ठाकुरज्यू तालको जस्तै रहेको न्यौपानेले बताए । यी दुवै तालमा पानीको सतह घट्दै गएको पुजारीको रुपमा काम गर्दै आउनुभएका रामेश्वर न्यौपानेले जानकारी दिनुभयो ।

पर्यटकीय महत्व बोकेका यी तालमा राज्यद्वारा गरिएको लगानीको सही सदुपयोग हुन सकेको छैन । यसपटक ठाकुर जाने ठाउँसम्म करिब रु ३५ हजार लगानीमा भक्तालु आफैँले सिँडी लगाएको उहाँको भनाइ छ ।

जाजरकोट तथा जुम्लाबीचको सिमानामा पर्ने ठाकुरज्यू र विष्टज्यू मात्र नभएर हुड्के दह, शङ्ख दहलगायतमा पनि संरक्षणको अभाव रहेको छ । साउन एकादशीदेखि लाग्ने मेलामा १० वर्षे बालकदेखि ७० वर्षका ज्येष्ठ नागरिकसम्म करिब दुई हजार जति भक्तजनले दर्शन गरेका न्यौपानेले बताउनुभयो ।

त्यहाँ दर्शन गर्न जाँँदा एकैदिन फर्कन नसकिने भएकाले सबैले आफ्नो बन्दोबस्तीका समान बोकेर लग्ने गर्दछन् । आफूले इच्छाएको कुरा देवताले पूरा गर्छन् भन्ने विश्वास गरिँदै आएको छ ।

प्रतिक्रिया