बन्दबाट जनजीवन थप कष्टकर

इनेप्लिज २०७२ भदौ १४ गते ७:३० मा प्रकाशित

Bandaविराटनगर, १४ भदौ । संयुक्त मधेसी मोर्चाले विराटनगरमा आज बिहानदेखि बन्दका कार्यक्रमलाई अझ सशक्त बनाएपछि जनजीवन थप कष्टकर बनेको छ ।

यसअघिका दिनमा बन्दको अवधिमा मोटरसाइकल र विद्युतीय रिक्सा र रिक्सा कुदिरहेको भए पनि आज बिहानदेखि विद्युतीय रिक्साको आवतजावत ठप्प भएकाले जनजीवन थप कष्टकर भएको हो ।

यस सम्बन्धमा सङ्घीय समाजवादी फोरम नेपाल मोरङका सदस्य जीतेन्द्र यादवले कूटनीतिक निकायका गाडी, एम्बुलेन्स, फोहर सङ्कलनका गाडी, शववाहन, दूधका गाडी र पत्रकारका गाडी निर्वाध रुपमा चल्न दिने र यसबाहेकका गाडीलाई चल्न नदिने जानकारी गराउनुभयो ।

बन्दको सबैभन्दा बढी प्रभाव विराटनगरको दक्षिणी क्षेत्रको रोडशेषदेखि जोगबनीसम्मको मार्गमा बिहानैदेखि देखिएको छ । बन्दकर्ताले सो क्षेत्रमा मोटरसाइकल, रिक्सासमेतको आवागमनलाई ठप्प पारेका छन् ।

विराटनगरको महेन्द्र चोकदेखि उत्तर र पूर्वी क्षेत्रमा मोटरसाइकल र रिक्सा निर्वाधरुपमा कुदिरहेको देखिन्छ । अनिश्चितकालीन बन्दका कारण अधिकांश व्यक्ति सीमावर्ती भारतीय बजार जोगवनीमा किनमेल गर्न रिक्सा र मोटरसाइकलबाट जाने गरेकामा आजदेखि ती साधन पनि बन्दकर्ताले चल्न नदिएपछि यसको प्रत्यक्ष असर जोगबनी बजारमा समेत परेको छ ।

लगातार १८औँ दिनदेखि बन्द जारी रहेकाले पूर्णरुपले शिक्षण संस्था र सार्वजनिक यातायातका साधन ठप्प छन् ।

प्रतिक्रिया