मगर सङ्घद्वारा म्याग्दी बन्द फिर्ता

इनेप्लिज २०७२ भदौ १४ गते ७:२७ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १४ भदौ । नेपाल मगर सङ्घको मगराँत सङ्घर्ष समितिले आज आह्वान गरेको मगराँत क्षेत्र बन्दको कार्यक्रम म्याग्दीमा फिर्ता लिएको छ ।

केन्द्रीय कार्यक्रमअनुसार बन्द आह्वान गरिए पनि म्याग्दीमा फिर्ता लिएको नेपाल मगर सङ्घ म्याग्दीका सचिव राजकुमार थापाले जानकारी दिनुभयो ।

म्याग्दीमा बिहानैदेखि शैक्षिक संस्थामा पठनपाठन भएको छ । सवारीसाधन पनि सञ्चालन भएका छन् ।

बजारका पसल पनि खुलेका छन् । उच्चस्तरीय राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको मगराँत क्षेत्रलाई टुक्र्याइएको विरोधमा मगर समुदायले बन्द आह्वान गरेका हुन् । उनीहरुले मगर समुदायको धेरै बसोबास रहेको म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, रोल्पा, रुकुम र प्युठान जिल्लालाई एउटै प्रदेशमा समावेश गर्नुपर्ने माग राखेका छन् ।

प्रशासनिक सुगमताका हिसाबले म्याग्दीलाई पछिल्लो पटक समावेश गरिएको ५ नम्बर प्रदेशनै अनुकूल भएकाले केन्द्रीय समितिले गरेको बन्दको कार्यक्रममा सहभागी नभएको मगर सङ्घ म्याग्दीका सचिव थापाले बताउनुभयो । बन्दबाहेकका मगर समुदायको अन्य मागप्रति भने सङ्घले समर्थन गर्ने थापाले बताउनुभयो ।

प्रतिक्रिया