माकुर तालको जैविक विविधता संरक्षणमा स्थानिय सक्रियता

इनेप्लिज २०७२ भदौ १४ गते २:२० मा प्रकाशित

कञ्चनपुर, १४ भदौ । कञ्चनपुरको बाइसेविचवा गाविस–४ नौरङ्गामा रहेको माकुर तालको जैविक विविधता संरक्षणमा स्थानीय बासिन्दाले सक्रियता देखाएका छन् ।

तालमा रहेका बनस्पति, जलचर, जलपक्षी बचाउनका लागि स्थानीय बासिन्दाले स्वस्फूर्तरुपमा दुई वर्षदेखि कार्य गर्दै आएका छन् ।

माकुराको जस्तै आकार भएको माकुर ताल क्षेत्रमा जथाभावी प्रवेशलाई स्थानीयले नियन्त्रण गरेका छन् । लालझाडी वनको बीचमा रहेको ताल रैथाने र साइबेरियन चराको मुख्य बासस्थानका रुपमा परिचित रहेको छ ।

यस तालमा राजहंस कमल, विभिन्न प्रजातिका माछा र वनका जनावरका पानी खाने मुख्य क्षेत्रका रुपमा रहेको स्थानीय नेआसपुत चौधरीले बताउनुभयो ।

ताल क्षेत्र नजिकै जलपक्षीले गुँड बनाउने र जलचरलाई तालमा क्रिडा गर्न सहज होस् भनेर ताल क्षेत्र प्रवेशमा कडाइ गरिएको उहाँले बताउनुभयो ।

विगतमा स्थानीयले माछा मार्ने र जलपक्षीको सिकार गर्न थालेपछि संरक्षणको प्रयास गरिएको मोहन रानाले बताउनुभयो ।

ताल क्षेत्रको पानी जोगाउनका लागि ड्याम बनाउने कार्य गरेका कारणले सुक्दै जाने तालमा सधैँ एकनासको पानी देख्न सकिने स्थानीयको भनाइ रहेको छ ।

जलाधार क्षेत्रको संरक्षण गरिएकाले विगतको तुलनामा बसाइँ सरेर आउने जलपक्षी र स्थानीय जातका माछाको सङ्ख्यामा अत्यधिक वृद्धि भएको नेपाली रानाले बताउनुभयो ।

वन क्षेत्रमा रहने गरेका हिसपीड खरायो, दुम्सी, बाह्रसिङ्गा, निलगाई र बाघको माकुर ताल पानी खाने मुख्य क्षेत्रका रुपमा रहेको छ ।

जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि ५० किलोमिटरको दूरीमा रहेको माकुर ताल ६६७७२ मिटर क्षेत्रफलमा फैलिएको छ । माकुर ताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिए आन्तरिक र बाह्य पर्यटकलाई तान्न सकिने यहाँका स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

प्रतिक्रिया