प्रहरी चौकी गाभिएका होइनन्: नेपाल प्रहरी

इनेप्लिज २०७२ भदौ १३ गते १५:१४ मा प्रकाशित

Nepal_Police_Insignia_20140220091129काठमाडौँ, १३ भदौ । नेपाल प्रहरीले जिल्ला सुरक्षा समितिको बैठकबाट कैलाली, दाङ, रौतहटलगायत केही जिल्लामा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम दङ्गाग्रस्त क्षेत्र घोषित गरी शान्ति सुरक्षा कायम गर्ने कार्य भइरहेको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति प्रकाशित गरी प्रादेशिक सीमाङ्कनको विषयलाई लिएर मधेसवादी दल, थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिलगायत पक्षले आन्दोलनका क्रममा घरेलु हातहतियारसहित निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने, तोडफोड जस्ता हिंसात्मक क्रियाकलाप गर्न उद्दत भई यही भदौ ७ गते कैलालीको टीकापुरमा सुरक्षामा परिचालित सुरक्षाकर्मीमाथि नै साङ्घातिक आक्रमण गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी आठ जनाको हत्या गरेपछि यस्ता हिंसात्मक गतिविधि तथा दङ्गाफसाद हुन नदिन सो गर्नुपरेको जनाएको छ ।

यसै क्रममा उल्लेखित जिल्लामा निषेधाज्ञा तथा दङ्गाग्रस्त क्षेत्र इलाकामा रहेका प्रहरी एकाईमा नियमित गस्ती, पिकेट तथा रिजर्भको व्यवस्था गरी सुरक्षा व्यवस्थालाई सुदृढ गर्न ग्रामीण क्षेत्रमा अस्थायी प्रकृतिका थोरै प्रहरी जनशक्ति रहेका पोस्टहरु र नगरक्षेत्रका ‘बिट’बाट प्रहरीलाई नजिकका अर्का प्रहरी एकाइमा स्थानान्तरण गरी मजबुत गर्न आवश्यक ठानी स्थानीय तहमा जिल्ला सुरक्षा समितिको निर्णयानुसार व्यवस्थापन गरिएको तर ती एकाइहरु स्थायीरुपले उठाइएका वा गाभिएको नभई हाल जनशक्तिको भरपर्दो व्यवस्था गरी क्रमशः ती एकाइहरु पुनःस्थापित भइसकेको पनि कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीले यस विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा ‘प्रहरी चौकी मर्ज गरिए वा गाभिए’ भनी प्रकाशित समाचारबाट जनमानसमा गलत सन्देश प्रवाह नहोस् भन्नका लागि विज्ञप्तिमार्फत स्पष्ट गरेको पनि जनाएको छ ।

प्रतिक्रिया