बन्दमा झडप, प्रहरी निरीक्षकसमेत नौ जना घाइते

इनेप्लिज २०७२ भदौ १३ गते ११:५१ मा प्रकाशित

चितवन, १३ भदौ । थारु कल्याणकारिणीसभा चितवनले आह्वान गरेको बन्दमा आज नारायणगढका व्यवसायीले बजार खुल्न दबाब दिएपछि दुई पक्षबीच झडप भएको छ । सो क्रममा नौ जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापा सामान्य घाइते भएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताउनुभयो । सो क्रममा आठ जना बन्दकर्ता सामान्य घाइते भएको थारु कल्याणकारी सभा चितवनका अध्यक्ष विश्राम महतोले बताउनुभयो ।

बन्द गराउने र खुलाउने बीचमा विवाद भएपछि अवस्था सामान्य बनाउन सहजीकरणमा जुटेका प्रहरी निरीक्षक थापालाई ढुङ्गाले बायाँ कुहिनोमा चोट लागेको छ ।

उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । थापाले दुई पक्ष मिलाउने क्रममा ढुङ्गाले हातमा लागेको बताउनुभयो ।

यता महतोले बन्द नगर्न बिहानैदेखि दबाब दिँदै आएको समूहले आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको आरोप लगाउनुभयो ।

बन्दका कारण जनजीवन प्रभावित बनेको छ । सवारी साधन सहज सञ्चालन नभएपछि लामो दूरीका सवारी साधनलाई सुरक्षा दिएर गन्तव्यतर्फ पठाइएको छ ।

प्रहरी प्रमुख थापाले बिहान ११ बजेसम्म ३०० वटा गाडीलाई गन्तव्यतर्फ पठाइएको बताउनुभयो । पूर्वबाट आएका गाडीलाई वाइपास हुँदै मुग्लिन र पश्चिमतर्फ पठाइएको छ भने पश्चिमतर्फबाट आएका गाडीलाई नारायणी किनारको बाटो प्रयोग गरी मुग्लिन तथा पूर्वतर्फ पठाइएको उहाँले बताउनुभयो ।

बन्दले कलकारखाना, बजार, शैक्षिक संस्थासमेत ठप्प बनेका छन् । चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, विगतमा भएका थारुसँगको सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै चितवनका थारु समुदाय आन्दोलित बनेका हुन् । थारु कल्याणकारिणी सभा चितवनका सभापति महतोले आफ्नो बन्द शान्तिपूर्ण भएको बताउनुभयो ।

प्रतिक्रिया