मुक्तकमैयाले लालपुर्जा पाए, जग्गा पाएनन्

इनेप्लिज २०७२ भदौ ६ गते ५:११ मा प्रकाशित

गुलरिया (बर्दिया), ६ भदौ । यहाँ बसोबास गर्ने मुक्तकमैयालाई सरकारले जग्गाको लालपुर्जा दिए पनि उनीहरुले अझैसम्म जग्गा उपभोग गर्न पाएका छैनन् ।

कमासु दिगो विकास समाज बर्दियाका अनुसार जिल्लामा १६ हजार दुई सय ६२ परिवार मुक्तकमैयाले लालपुर्जा पाए तापनि अझै एक हजार नौ सय जनाले जग्गा पाएका छैनन् । तीमध्ये करिब दुई हजार मुक्तकमैयालाई सरकारी लगतमा जग्गा दिलाए पनि तिनलाई जग्गा कहाँ छ भन्ने पनि थाहा नै छैन । बसोबास र जीविकोपार्जनका लागि दिइएको जग्गा उपयोग गर्न नपाएपछि उनीहरु अहिले बिचल्लीमा परेका छन् ।

उनीहरुले पाएका जग्गामध्ये कतिपय स्थानको जग्गा अन्य व्यक्तिले पहिलेदेखि नै उपयोग गर्दै आएका, केहीले पाएको जग्गा कसैको नहरमा परेको, केहीकोे बाटो वा खोल्सामा परेको छ । कतिपयको जग्गा नदीले कटान गरेको पाइएको छ ।

कतिपयलाई लालपुर्जा दिइए पनि स्थलमा गएर जग्गा चिनाइएको छैन । स्थल नहेरी सरकारी निकायका कर्मचारीले कार्यालयमै बाँडफाँट गरेकाले यस्तो समस्या आएको मुक्तकमैयाका अगुवा बिन्तीराम चौधरीले बताउनुभयो । आफ्नो जग्गा कुन हो भनेर चिन्न नपाएकालाई स्थलमा गएर जग्गा देखाइदिनुपर्ने मुक्तकमैयाको माग छ ।

प्रतिक्रिया