लोमान्थाङका असी घरधुरीलाई सोलार प्यानल

इनेप्लिज २०७२ भदौ ६ गते २:३८ मा प्रकाशित

solarमुस्ताङ, ६ भदौ । हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्रका ८० घरधुरीलाई चीन सरकारले निःशुल्क सोलार प्यानल जडान गरेको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङवासेन जिल्लाका प्रजिअ र सीमा प्रशासन कार्यालय लोमान्थाङबीच गत असार ५ गते भएको सीमा बैठकको सम्झौताअनुसार ७० वाटभन्दा बढी क्षमताको सोलार प्यानल जडान भएपछि लोमान्थाङ झिलीमिली बनेको सीमा प्रशासन कार्यालय मुस्ताङका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

“कुल तीन लाख युआन बराबरको कार्यक्रम हो, अहिले अधिकांश घरमा जडान भइसकेको छ, केहीमा बाँकी छ”, उहाँले भन्नुभयो, “त्यो पनि केही दिनभित्रै सम्पन्न हुनेछ ।” सबै घरधुरीलाई एकै पटकमा प्यानल जडान भएपछि पूरै बस्ती झलमल्ल बनेको बताइएको छ । चीन र नेपाली अधिकारीबीच समय समयमा हुने सीमा बैठकमा नेपाली पक्षले सीमा क्षेत्रका सर्वसाधारणको शिक्षा, स्वास्थ्य, यातायात, कृषि र दैनिक उपभोग्य वस्तुका लागि विभिन्न किसिमका माग पेस गर्छ । त्यसमा चिनियाँ पक्षले आवश्यक सम्बोधन गर्ने गरेको सीमा प्रशासन कार्यालयले जनाएको छ ।

चीनले उपल्लो मुस्ताङका छ गाविसका सर्वसाधारणलाई प्रतिघर वार्षिक चामल, तेल, दलहन, नुन लगायत दैनिक उपभोग्य सामग्री पनि वितरण गर्दै आएको छ ।

प्रतिक्रिया