जङ्गली हात्तीले सात घर भत्कायो

इनेप्लिज २०७२ भदौ २ गते १४:५२ मा प्रकाशित

elephantसुरुङ्गा(झापा), २ भदौ । दक्षिणी झापाको राजगढमा जङ्गली हात्तीले ‘उप्रदो’ मच्चाउन थालेपछि स्थानीयबासी चिन्तित बनेका छन् ।

विगत लामो समयदेखि स्थानीय चारकोशे जङ्गलअन्तर्गत पर्ने मनकामना, साधुपर्ती, लक्ष्मीथान सामुदायिक वनमा बसेका हात्तीले एक सातामा दर्जनभन्दा बढी स्थानीयको घर भत्काएपछि स्थानीयबासी चिन्तित बनेका हुन् ।

आज मात्रै जङ्गली हात्तीको समूहले राजगढ–५ र ९ नं वडाका सात घर भत्काएको साधुपर्ती सामुदायिक वन समूहका अध्यक्ष यामबहादुर गौतमले बताउनुभयो । हात्तीले दिनहुँ घर भत्काउँदा लाखौँको क्षति भएको उहाँको भनाइ छ ।

जङ्गली हात्तीले राजगढ–५ निवासी गीतादेवी दाहाल, वडा नं ९ निवासी भीमबहादुर मोक्तान, विशाल मोक्तान, लखीराम मुर्मू, वावुलाल मुर्मू, ठेम्क सोरेन र लेठू मडीको घर भत्काएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय राजगढका प्रमुख मनोजकुमार पौडेलले जङ्गली हात्तीले अधिकांशको घरमा पूर्ण रुपमा क्षति पु¥याएको र अन्नपातसमेत नष्ट गरेको बताउनुभयो ।

प्रतिक्रिया