दिवङ्गत पतिको स्मृतिमा विद्यालयलाई सहयोग

इनेप्लिज २०७२ भदौ २ गते १:५५ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), २ भदौ । म्याग्दीको राम्चेमा रहेको देउराली निमाविलाई एक प्रवासीले दिवङ्गत पतिको सम्झनामा आर्थिक सहयोग गर्नुभएको छ ।

राम्चे घर भई हाल बेलायतमा बस्दै आएकी ओमकुमारी पुर्जाले रु एक लाख पाँच हजार सहयोग गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयद्वारा स्थापित अक्षयकोषमा पुर्जाले दिवङ्गत पति गेलसिङ पुर्जाको पुण्यस्मृति पारेर मङ्गलबार रकम उपलब्ध गराउनुभएको विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष फासबहादुर पुर्जाले जानकारी दिनुभयो ।

सो कार्यक्रममा पुर्जाले राम्चे आमा समूह र बाबा समूहलाई पनि रु सातसात हजार नगद सहयोग गर्नुभएको छ । निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउनका लागि विद्यालयले स्थापना गरेको अक्षयकोषमा पुर्जासहित हालसम्म ११ जनाबाट करिब रु १५ लाख ११ हजार सहयोग प्राप्त भइसकेका छन् ।

अक्षयकोषको रकमबाट विद्यालयमा कार्यरत चार निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था गरिँदै आएको छ । करिब ७६ बालबालिका अध्ययनरत उक्त विद्यालयमा शिक्षा कार्यालयबाट ६ शिक्षकको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया