मृतकका आफन्तले आठौँ दिनपछि शव बुझे

इनेप्लिज २०७२ साउन ३२ गते १४:५४ मा प्रकाशित

वीरेन्द्रनगर, ३२ साउन । अखण्ड मध्यपश्चिम र सङ्घीय राजधानी सुर्खेतको माग गर्दै गत सोमबारदेखि थालिएको आन्दोलनमा ज्यान गुमाउनेका आफन्तले मृतकलाई सहिद घोषणा र क्षतिपूर्ति दिने सहमतिपछि शव बुझेका छन् ।

आन्दोलनमा ज्यान गुमाएका तीनजनाका परिवारले शव बुझेर आज दाहसंस्कार गरेका छन् । आन्दोलनमा गएका टीकाराम गौतम र यामबहादुर विसीलाई गत सोमबार गोली लागेका थिए भने गोपालसिंह रजवारको झडपमा पर्दा टाउकामा चोट लागेर मृत्यु भएको थियो ।

आन्दोलनमा मृत्यु भएका तीनैजनालाई राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि दिइयो ।

आन्दोलनमा मृत्यु भएका रजवारलाई राहत तथा क्षतिपूर्ति दिनका लागि गृह प्रशासनले प्रक्रिया पुर्‍याउन ढिलो गरेका कारण आठ दिनसम्म शव आफन्तले बुझेका थिएनन् । सुर्खेतवासीले मध्यपश्चिम विकास क्षेत्रलाई विभाजित गरी सुर्खेत, दैलेख र जाजरकोटलाई छैटौँ प्रदेशमा र बाँके बर्दियासहित राप्ती अञ्चललाई पाँचाँै प्रदेशमा गाभिएको विरोधमा बन्द गरेका हुन् । आन्दोलन सुरु भएको हप्तौँ बितिसकेको छ भने बन्दले गर्दा सुर्खेतको जनजीवन कष्टकर बन्दै गएको छ ।

प्रतिक्रिया